तनहुँ– विकास निर्माणले गति लिन थालेपछि तनहुँको फिरफिरे गाउँको मुहार फेरिएको छ । आधारभूत स्रोतसाधान पुगेपछि गाउँमा परिवर्तन आएको हो ।

सडक, बत्ती, खानेपानी, सञ्चार, स्वास्थ्यलगायतका सेवासुविधा पुग्न थालेपछि उजाडिँदै गएका बस्ती हराभरा हुन थालेका छन् । समुन्द्री सतहबाट करीब एक हजार २०० मिटर उचाइमा अवस्थित शुक्लागण्डकी नगरपालिका– १२ फिरफिरेमा पानीको सुविधा नहुँदा कम्तीमा एक घण्टाको बाटो हिँडेर पानी बोक्नुपर्ने समस्याको अन्त्य भएको छ । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत वडामा तीन वटा लिफ्टिङ आयोजना सम्पन्न गरी घरघरमा पानीको सुविधा पुगेपछि यहाँका बासिन्दा खुशी भएका छन् ।

सरकारको रु एक करोड २७ लाखको लागतमा धारेखोला लिफ्टिङ, राङलीबोट चुनेडाँडा लिफ्टिङ रु २५ लाख र जसपुर लिफ्टिङ खानेपानी रु ३० लाखको लागतमा सम्पन्न गरिएको हो । गाउँमा विकास पुगेसँगै गाउँबाट विस्थापित भएका कैयौँ मानिस पुनःआफ्नै गाउँ फर्किन थालेका छन् । पृथ्वीराजमार्गको दुलेगौडा बजारबाट करीब १३ किलोमिटर दूरीमा फिरफिरे गाउँ पुग्न सकिन्छ । दुलेगौडा–ढोर लामा गाउँ जाने सडकको स्तरोन्नति गर्ने कार्य भइरहेको छ । शुक्लागण्डकी नगरपालिकाको रु ८० लाख र गण्डकी प्रदेश सरकारको रु ५० लाखको लागतमा सडकको स्तरोन्नति गर्ने कार्य शुरु गरिएको हो । आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको वडाध्यक्ष मनराज गुरुङले बताउनुभयो ।

गाउँठाउँमा नै सेवासुविधा पाउँदा स्थानीयवासी दङ्ग परेको जनाउँदै उहाँले विकाससँगै अहिले गाउँप्रतिको आकर्षण बढ्दै गएको बताउनुभयो । फिरफिरेबाट धौलागिरि हिमालदेखि गणेश हिमालसम्मको विभिन्न हिमशृङ्खला देख्न सकिन्छ ।

उक्त स्थानबाट कास्की, स्याङ्जा, नवलपरासी, गोरखा र तनहुँ जिल्लाका डाँडाकाँडा र समथर भागको मनोरम दृश्य हेर्न सकिन्छ । पछिल्लो समय पर्यटकीय दृष्टिकोणलेसमेत फिरफिरे गाउँ पर्यटकको गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको छ । आएका पाहुनालाई राख्नका लागि सामुदायिक भवन निर्माण कार्यलाई तीव्रता दिन थालिएको वडा कार्यालयले जनाएको छ ।

पर्यटन प्रवद्र्धनका लागि वडामा दुई वटा घरवास सञ्चालनमा ल्याइएको छ । ढोर लामा गाउँ सामुदायिक होमस्टे र घडेरी मिलेनियम सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको हो । ‘जाउँ है फिरफिरे’ भन्ने अभियानलाई आत्मसात गर्दै स्थानीयस्तरमा उत्पादन गरिएका स्थानीय परिकारद्वारा आगन्तुक पाहुनालाई सत्कार गर्ने व्यवस्था मिलाइएको ढोर लामा गाउँ सामुदायिक होमस्टकी अध्यक्ष उमाकुमारी गुरुङले बताउनुभयो ।

अघिल्लो दिनको खाजा, बेलुकाको खाना, बस्न र भोलिपल्ट बिहानको खाजासहित एक हजार रु २०० मा प्याकेजको व्यवस्था गरिएको छ । उक्त प्याकेजअन्तर्गत मिलेनियम गुफा अवलोकनसमेत समावेश छ । फिरफिरे क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न होमस्टे सञ्चालनमा ल्याउन थालिएको घडेरी मिलेनियम सामुदायिक होमस्टेकी अध्यक्ष फूलमाया गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती दुई वटा घरबासमा कम्तीमा ५०÷५० जना क्षमता छ । घरबासमा आउने पाहुनालाई मनोरञ्जन प्रदान गर्न जातीय कलासंस्कृति प्रस्तुत गर्ने गरिएको छ ।

तमुहिल पार्क बन्दै

साविकको फिरफिरे गाविस रहेको उक्त वडाको राङलीबोट गाउँमा रु पाँच करोडको लागतमा तमुहिल पार्क निर्माण कार्य शुरु गरिएको छ । गुरुङ समुदायको बाक्लो बसोबास रहेको फिरफिरेमा गुरुङ जातिको इतिहास, धर्म, कला, संस्कृति र रीतिरिवाजको प्रतिबिम्बका रुपमा पार्क निर्माण गर्न खोजिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

उद्यान निर्माणका लागि वडाले चालू आर्थिक वर्षमा रु १० लाख विनियोजन गरिएको छ । उद्यानको पूर्वाधार निर्माण गर्न करीब पाँच करोड रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भइसकेको छ । “फिरफिरेलाई नौलो पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न वडाले पार्क निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ”, “पार्कको मुख्य आकर्षका रुपमा फलिना क्होइबो रहनेछ ।” गुरुङ समुदायको पैतृक कार्यसँग जोडिएको क्होइबोमा १२ वर्गचक्रको मूर्ति निर्माण गरिनेछ ।

त्यस्तै गुरुङ समुदायको परम्परागत घर निर्माण गरी त्यसभित्र जन्मदेखि मृत्युसम्मका कर्मकाण्ड झल्कने हस्तकलालगायतका सामग्रीको प्रदर्शन गरिने जनाइएको छ । तमुहिल उद्यान निर्माण सम्पन्नपश्चात् शान्ति उद्यान र गोरखा राइफल्स उद्यान निर्माण गर्ने योजना छ । भगवान् गौतम बुद्धको २५ फिट अग्लो विशाल मूर्ति बनाइनेछ भने सिन्धुलीगढीका सरदार वंशु गुरुङलगायत पहिलो तथा दोस्रो विश्वयुद्ध लडेका पुर्खादेखि हालसम्म नेपाल, भारत, सिङ्गापुर र ब्रिटिस सरकारको सेवामा आफ्नो योगदान गरेका वीर योद्धाको स्मृति र सम्मानमा पार्क निर्माण गर्न लागेको हो । पर्यटकको थप आकर्षका लागि पार्कमा वाटर फाउण्टेन, वनभोजस्थल, बालउद्यान र आपत्कालीन उद्धारका लागि हेलिप्याडसमेत निर्माण गर्ने योजना वडा कार्यालयले जनाएको छ ।

तमुहिल उद्यान निर्माणका लागि सार्वजानिक जग्गाले मात्रै अपुग हुने देखिएपछि स्थानीय छ जनाले १५ रोपनी चार आना जग्गा निःशुल्क दान गरेका छन् । कूल १५ रोपनी चार आना जग्गा दान गरेको वडा कार्यालयले जनाएको छ ।

सो ठाउँका कौरी गुरुङले एक रोपनी आठ आना, कविराज गुरुङले १५ आना, इन्द्रसुवा गुरुङले एक रोपनी सात आना, भुपरध्वज गुरुङले तीन रोपनी एक आना, लालु गुरुङ एक रोपनी ११ आना र मनबहादुर गुरुङले एक रोपनी आठ आना जग्गा पार्कका लागि उपलब्ध गराएको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

पर्यटकको रोजाइमा मिलेनियम गुफा ः

पर्यटकीय आर्कषणका रुपमा यहाँ रहेको मिलेनियम गुफा गत असारमा आएको बाढीपहिराले क्षति भएका कारण मर्मतसम्भारका काम भइरहेका छन् । गुफा नजिकै रहेको सादी खोलाको झरनाले सुनमा सुगन्ध जस्तो बनाइदिएको छ । सहस्राब्दी पदमार्ग९मिलेनियम ट्रेक० अन्तर्गत पर्ने गुफा र झरना अवलोकनका लागि महिनामा २०० देखि ३०० सम्म आन्तरिक पर्यटक आउने गरेको मिलेनियम गुफा संरक्षण समितिका अध्यक्ष प्रेमबहादुर गुरुङले बताउनुभयो ।

झरनातर्फ जानका लागि ट्रष्ट ब्रिज निर्माण कार्य भइरहेको र आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको उहाँले जानकारी दिनुभयो । गुफा जाने पैदलमार्ग निर्माण प्रतिक्षालय, प्रवेशद्वारलगायतका भौतिक संरचना भने निर्माण सम्पन्न भइसकेका छन् । सङ्घीय सरकारबाट २० लाख रुपैयाँ र शुक्लागण्डकी नगरपालिकाद्वारा रु पाँच लाखको लागतमा भौतिक संरचना निर्माण गरिएको हो ।

शुक्लागण्डकी नगरपालिकाको सम्पत्तिका रुपमा ढोर राजदरबार ओझेलमा पर्दै गएको छ । शुक्लागण्डकी नगरपालिका–१० र १२ को सिमानास्थित ढोर दरबार भग्नावेश अवस्थामा छन् । पुरातात्विक विभागबाटसमेत उक्त स्थलको अवलोकन गरी संरक्षणका लागि पहलकदमी थालिएको छ । पुरातात्विक वस्तुको संरक्षण र सम्वद्र्धन गर्दै उक्त स्थानमा पार्कस्थल, वनभोजस्थल निर्माण गर्ने योजना छ । त्यसका लागि शुक्लागण्डकी नगरपालिकाको रु १० लाख विनियोजन गरिसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया