काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले उहाँलाई शपथ गराउनुभएको हो ।

सोही कार्यक्रममा अध्यक्ष निरौलाले आयोगका उपाध्यक्ष मीनेन्द्र खड्कालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिनुभयो । शपथपछि प्रधानमन्त्री देउवाले भूमिसम्बन्धी समस्या लिपीबद्ध तथा व्यवस्थित गरेर दत्तचित्तका साथ समाधान गर्ने अपेक्षासहित आयोगका पदाधिकारीलाई बधाई दिनुभएको थियो । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गर्ने निर्णय गर्दै अध्यक्षमा निरौला र उपाध्यक्षमा खड्कालाई नियुक्त गर्ने निर्णयसमेत गरेको थियो ।

भूमिसम्बन्धी समस्या समाधान आयोग, २०७६ अनुसार नयाँ आयोग गठन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेकपा (एमाले) चितवनका नेता देवी ज्ञवाली नेतृत्वको आयोग संविधानअनुसार गठन नभएको ठहर गर्दै सरकारले गत साउन १९ गते खारेज गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया