काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बारे सर्वोच्च अदालतको फैसला पुनरावलोकन माग राखी दर्ता गरेको निवेदनमाथि बिहीबार सुनुवाइ हुने भएको छ।
सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको तीन सदस्यीय इजलासमा उक्त मुद्दाको पेसी तोकेको हो। इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन्। बिहीबारको सुनुवाइले प्रचण्डले माग गरेबमोजिम पुनरावलोकनका लागि स्वीकृति दिने वा नदिने भन्ने निर्णय गर्नेछ।
इजलासले प्रचण्डको निवेदनअनुसार पुनरावलोकन गर्ने भनी आदेश जारी गरेमा मात्रै फैसला कानुनसम्मत छ/छैन भन्नेबारे बहस हुनेछ। पुनरावलोकन नहुने भनी आदेश गरेमा गत फागुन २३ गतेकै फैसला अन्तिम भएर बस्नेछ।
२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएपछि निर्वाचन आयोगले नाम जुध्ने गरी ओली र प्रचण्ड नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो। तत्काल कट्टेलले आयोगमा दिएको निवेदन खारेज भएको थियो। त्यसपछि नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले करिब ३ वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए। कट्टेलको पक्षमा फैसला गर्दै सर्वोच्चले फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो।
सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आ-आफ्नो कित्तामा फर्किएका छन्। यता माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’माधव नेपाल समूहमा गएका एमालेका नेताहरु र ओली पक्षबीच असमझदारी बढ्दै गएको छ। माधव-झलनाथ खनाल पक्ष र पार्टी अध्यक्ष ओली दुई समूहमा देखिएका छन्। आजको अन्नप्रूर्ण पोष्टमा समाचार छ ।
प्रचण्डले पुनरावलोकनका लागि निवेदन दिदै भनेका छन्, ‘सम्मानित अदालतबाट निरुपण हुनु पर्ने प्रस्तुत विषय निवेदकको व्यक्तिगत हकहित तथा चासो र सरोकारको विषय मात्र नभई कानूनी राज्यको अवधारणा, प्रजातान्त्रिक मूल्यमान्यता समेत सँग सम्वन्धित रही समग्र देश, देशवाशी प्रभावित हुने, राजनीतिक, आर्थिक र सामाजिक रुपमा समेत दुरगामी असर पर्ने प्रकृतिको रहेको कारण सार्वजनिक सरोकारको विषय समावेश भई तत्कालै सुनुवाई गरी निरुपण गर्नु पर्ने विषय भएकोले निवेदन पत्रलाई प्राथमिकता प्रदान गरी तत्कालै पेशीमा चढाई निरन्तर सुनुवाई गरी अविलम्व करवाही र किनारा गरी पाउँ।’