गण्डकी –प्रदेश खेलकुद परिषद् गण्डकीले प्रदेश खेलकुद सङ्घसँग मङ्गलबार बृहत् छलफलसहित अन्तरक्रिया गरेको छ ।
विभिन्न ३० भन्दा बढी खेल सङ्घको सहभागिता रहेको कार्यक्रममा प्रदेशको खेलकुद विकासका लागि खेल सङ्घसँगका विभिन्न समस्याका बारेमा छलफल गरिएको परिषद्का सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुुभयो ।
परिषद्द्वारा अघि सारिएका कार्यक्रम सफल बनाउने र खेल सङ्घलाई व्यवस्थित गर्ने लगायतका विषयमा छलफल भई निर्णय गरिएको उहाँले बताउनुुभयो । खेल सङ्घका समस्या र चुनौतीका बीच खेलकुदको समग्र विकासलाई अघि बढाउने विषयमा भएको छलफलले आगामी दिनमा हुने योजना कार्यान्वयनमा सहजतासँगै निकासका लागि बाटो खुल्ला गरेको शमाले बताउनुुभयो ।
कार्यक्रममा सहभागीले प्रदेश खेलकुद विकास ऐन, २०७७ अनुसार तदर्थ समिति गठन गर्न निकै कठिनाइ उत्पन्न भएको बताउँदै उक्त समस्या समाधानका लागि परिषद्लाई पहल गर्न आग्रह गरेका थिए ।
प्रदेश खेलकुद सङघ गठन भइसकेका सङ्घको अद्यावधिक साधारणसभासहित प्रदेश खेलकुद परिषद्मा दर्ता वा नवीकरण गर्न तथा दर्ता हुन बाँकी खेल सङ्घले तदर्थ समिति दर्ता र परिषद्ले सङ्घसँग आवश्यक समन्वय गरी सहजीकरण गर्न आग्रह गरिएको थियो ।
परिषद्ले सूचीकृतका लागि आह्वान गरेका रेफ्री, जज, एम्पयार, खेल प्राविधिक, प्रशिक्षक र खेल प्रशिक्षण केन्द्रको सूचीकरण गर्न सङ्घहरूले सहयोगको प्रतिबद्धता व्यक्त गर्दै गण्डकी प्रदेशमा स्थापना हुने खेलाडी कल्याणकारी कोषमा रकम वृद्धिका लागि समेत प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै सहभागीले जिल्लास्थित खेल सङ्घको अनुगमन, खेलकुदको विकास, विस्तारका लागि समन्वय गर्दै अघि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गरेको परिषद्ले जनाएको छ ।
कार्यक्रममा आव २०७९/८० मा सम्पन्न विभिन्न खेलकुद प्रतियोगितालगायत कार्यक्रमको समीक्षा गर्दै भएका कमजोरीको समेत सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले कार्यक्रमले परिषद् र खेल सङ्घबीचको सम्बन्धलाई थप सुमधुर बनाउन भूमिका खेल्ने बताउनुुभयो । खेल सङ्घ बलियो भएसँगै सुशासनयुक्त भए मात्रै खेल विकासले गति लिने उहाँले बताउनुुभयो ।
प्रदेश खेलकुदका कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ, ऋषिराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल, क्षेत्रीय खेलकुदका प्रमुख लक्ष्मणप्रसाद योगीलगायतले खेलकुदको विकासमा खेल सङ्घको भूमिकालगायतमा बोल्नुुभएको थियो ।

तपाईको प्रतिक्रिया