काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा स्पेनिस महारथि रियल म्याड्रिडलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को झट्का लागेको छ । लिग अन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पीएसजीले रियललाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा पीएसजीलाई जिताउन केलियन एमबाप्पेले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्नुभयो । यसअघि ६२औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टी मिस गर्दा पीएसजी दबाबमा देखिएको थियो ।

पीएसजीले यस खेलमा चोटका कारण लामो समय मैदान बाहिर रहनुभएका नेयमारलाई पनि उतारेको थियो । नेयमार ७२औँ मिनेटमा एन्जल डि मारियको स्थानमा मैदान छिर्नुभएको थियो । पीएसजीलाई कडा टक्टर दिएपनि रियल अन्तिममा हार खेप्न बाध्य भयो । दोस्रो लेग मार्च ९ तारिख रियलको मैदानमा हुनेछ ।

अर्को खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई ५–० गोलले हराएको छ । एकपक्षीय अवे खेलमा सिटीलाई फराकिलो जित दिलाउन बेर्नाडो सिल्भाले १७औँ र ४४औँ मिनेटमा दुई गोल गर्नुभयो ।

रियाद महरेजले सातौँ, फिल फोडेनले ३२औँ र रहिम स्ट्रर्लिङले ५८औँ मिनेटमा एक एक गोल गर्नुभएको थियो । जितसँगै सिटीले क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया