काठमाडौँ – पहिलो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । जसमा छ हजार ९४० जना सहभागी भएका छन् । यही माघ १३ गतेदेखि शुरु गरिएको पहिलो चरणको खोप अभियान शनिबार सम्पन्न भएको छ । शनिबारसम्ममा भरतपुर अस्पतालको केन्द्रबाट तीन हजार ७२९ ले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो ।
त्यस्तै पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालबाट ४००, बघौडा अस्पताल माडीबाट ८९, चितवन मेडिकल कलेजबाट एक हजार ४०, कलेज अफ मेडिकल साइन्सेजबाट ८०८, वृद्धाआश्रमबाट १८९ र कारागार कार्यालय चितवनबाट ६८३ जनाले खोप लगाएका हुन् । खोप शुरु भएको पहिलो दिन २७९ ले खोप लगाएका थिए । यो सङ्ख्या बढेर एकैदिन खोप लगाउने एक हजार २५७ सम्म पुगेको थियो । जिल्लालाई दिइएको लक्ष्यमा ९१ दशमलव पाँच प्रतिशत सफलता पाएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो ।
खोप लगाइसकेपछि आठ जनामा सामान्य प्रतिक्रिया देखिएको भए पनि त्यस्तो अप्रिय घटना हुन नपाएको उहाँको भनाइ छ । खोप लगाएकामध्ये चार जनालाई डाबर उठ्ने र चार जनालाई ज्वरो आएको भरतपुर अस्पतालका प्रवक्ता डा युवानिधि बसौलाले जानकारी दिनुभयो ।