दमौली– तनहुँमा तीन दिनका अवधिमा ५ सय ४८ स्वास्थ्यकर्मीले कोभिड विरुद्धको खोप लगाएका छन् । खोप अभियानको तेस्रो दिनसम्म जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत ती स्वास्थ्यकर्मीले खोप लगाएका हुन् ।

शुक्रबार घिरिङ गाउँपालिकाका ६०, भीमाद नगरपालिकाका ५८ र शुक्लागण्डकी नगरपालिकाका १ सय १७ ले कोभिड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

खोप अभियानको पहिलो दिन एक सय चार र दोस्रो दिन दुई सय ९ जनाले खोप लगाएको कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यही माघ १९ गतेसम्म जिल्लाका १ हजार ६ सय ७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । खोप लगाउनका लागि दमौलीमा तीन वटा खोप केन्द्र तोकिएको छ ।

उहाँका अनुसार व्यास नगरपालिका ५ सय ५८, शुक्लागण्डकी नगरपािलका २ सय ६७, भीमाद नगरपालिका १ सय ७७, भानु नगरपालिका १ सय ७१, म्याग्दे गाउँपालिका ८२, ऋषिङ गाउँपालिकाका ९८,घिरिङ गाउँपालिका ६१, आँबुखैरेनी गाउँपालिका ७३, बन्दीपुर गाउँपालिका १ सय ५ र देवघाट गाउँपालिका ८७ लाई खोप लगाइँदैछ ।

गण्डकीमा ७८९२ लाई खोप लगाइयो

गण्डकी प्रदेशमा आजसम्म ७ हजार ८ सय ९२ लाई कोभिड विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना विरुद्धको खोप लगाउनेको कुल लक्ष्य १७ हजार ३ सय ९६ मध्ये ४५।३७ प्रतिशत प्रगति भएको छ । यस अवधिमा कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनैपनि जटिल अवस्थाको अवाञ्छित घटनाहरु नभएको उहाँले जानकारी दिनुभयो ।

कास्कीमा ३ हजार २ सय २६, गोरखामा ५ सय १७, तनहुँमा ५ सय ४८, नवलपुरमा ६ सय, पर्वतमा ४ सय ७६, बागलुङमा ६ सय २६, मनाङमा १ सय १०, मुस्ताङमा १ सय ६, म्याग्दीमा ३ सय १२, लमजुङमा ७ सय ८४, स्याङ्जामा ५ सय ८७ जनालाई खोप लगाइएको छ ।

स्वास्थ्य भवन निर्माण सम्पन्न

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । ग्रामीण भेगका जनतालाई वडास्तरमा नै स्वास्थ्य सेवा दिने उद्देश्य सहित स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो ।

विसं २०७६ कात्तिक ६ मा शुरु भएको भवन विसं २०७७ असोज २७ मा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार एक सय ५६ वर्गफिटमा फैलिएको भवन रु ५३ लाख ३८ हजार २९ को लागतमा सम्पन्न भएको हो । खरादेवी निर्माण सेवा भक्तपुरले भवन निर्माणको जिम्मा पाएको थियो ।

स्वास्थ्य केन्द्रमा एक एचए, एक अनमि र कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । विस्तारै जनशक्ति थपिने उहाँ बताउनुभयो । स्वास्थ्य केन्द्रबाट सरकारले उपलब्ध गराएको ३५ प्रकारका औषधि निःशुल्क रुपमा प्राप्त हुनेछ ।

स्वास्थ्य केन्द्रको शुक्रबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्दै स्वास्थ्य केन्द्रको सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कोभिड खोपको बारेमा अफवाह फैलाउने काम भएको भन्दै गलत प्रचारले स्वास्थ्यकर्मीमाथि नकारात्मक असर परेको बताउनुभयो । “खोप सुरक्षित छ, गलत भ्रमको पछाडि लाग्न आवश्यक छैन,” उहाँले भन्नुभयो ।

गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले वडा वडामा स्थापना भएका आधारभूत स्वास्थ्य केन्द्रबाट अधिकतम सेवा लिन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाले वडा नं १ मा रु ५४ लाखको लागतमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गरिसकेको छ भने वडा नं ४ मा भवन निर्माणका लागि बोलपत्र सम्झौता भएको छ । गाउँपालिकाले वडा कार्यालय भवन निर्माणलाई समेत तीव्रता दिएको छ । जसबमोजिम वडा नं १ र ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं ४ को निर्माणाधीन अवस्थामा छ । त्यस्तै वडा नं २ को भवन निर्माणका लागि जग्गा एकिन गरिएको छ भने वडा नं ६ को विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ ।

वडा नं १ को भवन रु ७४ लाख ४२ हजार सात सयको लागतमा सम्पन्न भएको छ । वडा नं ४ को भवन रु ५२ लाख ४२ हजारमा निर्माणाधीन छ । भवनको काम ७० प्रतिशत सम्पन्न भएको छ । वडा नं ५ को भवन रु ५३ लाख ५० हजारमा निर्माण सम्पन्न भएको छ । वडा नं ६ का लागि रु ७० लाख बजेट अनुमानित गरिएको छ ।

तपाईको प्रतिक्रिया