काठमाडौं  – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् । सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन् ।

प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै गृहमन्त्री लामिछाने संसद्को विधि अनुसार विश्वासको मत लिँदा समेत कांग्रेसले अवरोध गरेको बताए ।
उनले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्नतिर लाग्ने बताए । उनले संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जायज भएको तर व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने बताए ।
गृहमन्त्री लामिछानेले सरकारले सहकारी पीडितहरूको न्यायको लागि द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनाए । उनले प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर समिति बनाउन नाराबाजी गरे पनि सरकार व्यक्ति केन्द्रित नभई संवेदनशील र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्ने बताए ।
गृहमन्त्री लामिछानेले आफूले संसदमा बोल्दा प्रतिपक्षका नेताहरूलाई कुनै आरोप लगाउने र धम्काउने काम नगरेको बताए ।

तपाईको प्रतिक्रिया