सप्तरी – राजविराज नगरपालिकाबाट आज दुई युवकलाई नलकटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । हातहतियार खरखजाना मुद्दामा ११ महिना कारागारमा थुनामा रहिसकेका विष्णुपुर गाउँपालिका–७ का २० वर्षीय महेशकुमार शर्मासहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले आज पत्रकार सम्मेलन गरी जनाएको छ ।
राजविराजमा स ७ प ९६७० नम्बरको मोटरसाइकलमा घुमिरहेका चालक शर्मा र मोटरसाइकल पछाडि सवार विष्णुपुर–५ का १९ वर्षीय प्रमोद साहलाई राजविराज–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।
विशेष सूचना पाएका जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय राजविराजको टोलीले उनीहरुलाई एक थान कटुवा पेस्तोल र दुई थान गोलीसहित पक्राउ गरेको जनाइएको छ । शर्माका साथबाट २०७४ जेठ १३ गते पनि एक थान कटुवा पेस्तोल र सोमा लाग्ने तीन थान गोली फेला परेको थियो । उक्त मुद्दामा शर्मा ११ महीना कैदमा बसेको थिए ।