काठमाडौं – नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि हात पारेको छ । मंगलबार बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा साविक विजेता नेपालले उज्वेकिस्तानलाई २६-२४, २४-२६, २५-१५, २२-२५, १५-११ ले हरायो ।
यसअघि सन् २०१९ मा बंगलादेशमै भएको प्रतियोगितामा नेपाल लिग चरणदेखि एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो । नेपालले लिग चरणमा लगातार पाँच जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । ६ देश सहभागि प्रतियोगिताको लिग चरणको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–२, दोस्रो खेलमा माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।
चौथो खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० र पाँचौँ खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा स्तब्ध बनाएको थियो । उज्वेकिस्तान भने लिग चरणमा दोस्रो बन्दै फाइनलमा पुगेको थियो ।