काठमाडौं – नेकपा (एमाले) ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ । विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको १२औँ केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९ गतेका दिन केन्द्रीय कार्यालय रहेको स्थल बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
विसं २०५३ मा निर्माण गरिएको एमालेको पार्टी मुख्यालय भूकम्पले क्षति भएपछि धुम्रबराहीमा सारिएको थियो । एमालेका कार्यलय सचिव ईश्वरी रिजालले पार्टीको आवश्यकताअनुसार भवन अत्याधुनिक बनाइने बताउनुभयो । पुराना कार्यालयका करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ ।
उहाँका अनुसार शिलान्यासको तयारी जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ । यस्तै बैठकले १०औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णयसमेत गरेको छ । अहिले रहेका २६४ सदस्सीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको निर्णयसमेत गरेको छ ।
चार नेतालाई स्पष्टीकरण सोधिने
बैठकले नेकपा एमालेका नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पार्टीविपरीतका गतिविधि गरेका कारण स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।