काठमाडौं – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना एमसीसीका पक्षमा सत्ता गठबन्धनका सबै दलले मत हाल्नुपर्ने नत्र नयाँ समीकरण बन्नुपर्ने बताएका छन् । यस बाहेक अर्को बाटो नभएको चेतावनी उनले दिएका छन् ।
सत्ता गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका विपक्षमा मत दिने बताइरहेका बेला सत्ता घटक एउटा दल जसपाका शीर्ष नेता भट्टराईले त्यसो हो भने गठबन्धन टुट्ने निश्चित भएको चेतावनी दिएका हुन् ।
‘एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्रीरबाहिरी स्वीकार्यता रहन्न’, पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले मंगलबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो बिन्दुमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपर्यो । अर्को बाटो छैन ।’