इलाम, मंगलबारे – नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको मुख नताकी गर्न सके वार्षिक लाखौँ कमाउनेहरूको संख्या पनि कम छैन । पछिल्लो समय कृषि पेसा छोड्नेको संख्या बढ्दै गएको छ, तर कृषि पेसाबाटै मनग्य कमाउने किसानसमेत गाउँमा नै रमाइरहेका छन् ।
कृषि पेसाबाट नै गर्न सके स्वदेशमा नै बसेर विदेशमा भन्दा दोब्बर बढी आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् इलाम सन्दकपुर गाउँपालिका– २ का निवर्तमान वडाध्यक्ष गिरिराज खनाल । उनले यसै वर्ष ३४ लाखभन्दा धेरैको अलैँची उत्पादन गरेका छन् । सन्दकपुर गाउँपालिका– २ माईमझुवाका किसान गिरिराज खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन उत्पादन गरेको बताए । अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात् प्रतिमन एक लाख १५ हजार रहेको छ । ३० मन अलैँचीको प्रतिमन रु. एक लाख १५ हजारको दरले पनि रु. ३४ लाख ५० हजार पर्न जान्छ । यो उनको एकै वर्षको आम्दानी हो ।
गाउँगाउँमा पुगेका व्यापारीले महँगाे मूल्य लगाउने गरेका छन् । बजारमा व्यापारीले एक लाख १० हजारमाथि खरिद गर्ने गरेका छन् । निवर्तमान वडाध्यक्षसमेत रहेका खनालले लामो समयदेखि अलैँची खेती गर्दै आएका हुन् । बिचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछोडेको उनले बताए । केही वर्षअघि दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्लाबाहिरका किसानसमक्ष बिरुवा पुर्याएको उनको भनाइ छ ।
धेरै मिहिनेतसमेत नलाग्ने अलैँची खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ । सुरुमा बिरुवा रोप्दा बारी फँडानी गर्न र बिरुवा लगाउन केही खर्च हुने र अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन खर्च हुने गरेको किसान खनालको भनाइ छ। समयसमयमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ ।
हाल उनले ३३ रोपनी र २४ रोपनीका दुईवटा प्लटमा सो खेती गरेका छन् । हिउँदको समयमा तुसारो पर्ने भएकाले यहाँ हिउँदका दिनमा तुसारोबाट जोगाउन ग्रिन नेट लगाउने गरिन्छ । उनले यस वर्ष करिब ३० मन अलैँची उत्पादन गरेका छन् । आगामी वर्षबाट अझै उत्पादन बढ्ने उनले बताए । अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ बिरुवाबाट समेत उत्पादन बढ्ने उनले बताए ।
राजनीति गर्ने मान्छेले केही न केही काम गर्नुपर्ने उनी बताउँछन् । राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नुपर्छ भन्ने सोचका साथ आफूले कृषि पेसा रोजेको उनी बताउँछन् । उनले जस्तै जिल्लाका अन्य किसानले समेत यस वर्ष अलैँचीबाट राम्रो रकम कमाइ गरेका छन् । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँबराबरको अलैँची निकासी हुने गर्दछ । चालू आव ०८१/८२ को पहिलो तीन महिनामा सात सय ८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कमी हो ।
आव ०८०/८१ को सोही अवधिमा एक हजार पाँच सय २५.९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो । अलैँची औषधीय गुण भएको नगदेबाली हो । यसबाट विशेष गरेर औषधिजन्य वस्तु निर्माण हुने गर्दछ । गर्मीमा समेत अलैँचीलाई शीतलता प्रदानका लागि प्रयोग गरिन्छ । मसलाका रूपमा समेत अलैँचीको प्रयोग हुन्छ । गाउँघरमा मासु पकाउँदा अलैँचीलाई जिरासँग मिसाएर पकाउने गरिन्छ । सर्बत पानीमा समेत यसलाई प्रयोग गरिने गरिन्छ ।
नेपालबाट विदेश निर्यात हुने अलैँचीबाट पर्फिम वा सुगन्धित तेल निर्माण हुने गर्दछ । विकसित मुलुकमा यसबाट निर्माण भएको पर्फिम निकै मूल्यमा बिक्री हुने गर्दछ । नेपालमा उत्पादित अलैँचीको उचित प्रशोधन र प्रमाणीकरण नहुँदा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न समस्या भइरहेको छ । झापामा यसको प्रशोधनका लागि एउटा मात्र प्रशोधन केन्द्र हुँदा व्यवसायी समस्यामा परेको बताउँछन् । रासस