काठमाडौं – नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु )ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
अध्यक्ष सुनिता बरालले आइतबार विज्ञप्तिमार्फत जारी गर्दै तत्काल निर्वाचनको मिति सार्वजनिक गर्न माग गरेकी हुन् । उनले निर्वाचन मिति घोषणा नभए लाखौं विद्यार्थीलाई सडकमा उतार्ने चेतावनी दिएकी छन् ।
संगठनले माघ १७ गते देशैभरिका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय मार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गराउने कार्यक्रम सार्वजनिक गरेको छ ।
तत्काल निर्वाचन गर्न दबाब दिन क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा जनाइएको छ । माघ १८ गतेसम्म निर्वाचन घोषणा नगरे प्रतिकात्मक रूपमा सरकारका मन्त्रीहरू सहभागी कार्यक्रममा कालो झण्डा देखाइने र माघ १९ गते काठमाडौं र प्रदेश राजधानीहरूमा कानूनविद्हरूसंग सडक बहस गर्ने बताएको छ ।