सरकारले करिब रु १२ खर्ब बराबरको वैदेशिक लगानी भित्र्याउने प्रक्रियालाई अन्तिम रुप दिएको छ ।

ऊर्जा, भौतिक पूर्वाधार तथा आर्थिक विकासका लागि महत्वपूर्ण योगदान गर्ने लक्ष्यसहित वैदेशिक लगानी भित्र्याउने अन्तिम तयारी गरेको हो ।

लगानी बोर्डका अनुसार गत चैत १५ र १६ गते सम्पन्न लगानी सम्मेलनका क्रममा प्रस्तुत गरिएका ५० आयोजनामध्ये १४ आयोजना अगाडि बढाउनका लागि रु ११ खर्ब ८८ अर्ब बराबरका आयोजनाको पूर्वयोग्यता मूल्याङ्कन सम्पन्न भएको छ । ती आयोजनाको पूर्वयोग्यता मूल्याङ्कन गरी योग्य लगानीकर्ताको सङ्क्षिप्त सूचीसमेत तयार पारिसकिएको र निकट भविष्यमा नै आयोजना अगाडि बढाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिने बोर्डले जनाएको छ ।

बोर्डमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा व्यक्त भएको प्रतिबद्धताअनुसार नै प्रक्रिया अगाडि बढेको र देशका लागि निकट भविष्यमा नै केही ठूला र ‘गेम चेन्जर’ परियोजनाले साकार रुप लिने विश्वास व्यक्त गर्नुभयो । ती आयोजनामध्ये ७५६ मेगावाट क्षमताको तमोर जलाशयुक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनीसमेत चयन भइसकेको छ । चिनियाँ कम्पनी पावर चाइनाले सो आयोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति पाइसकेको छ ।

यस्तै सम्मेलनलगत्तै रु १० खर्ब ५४ अर्ब लागतको सवारी साधन उत्पादन गर्ने कम्पनीसँग प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । कोरियन कम्पनी मोटे«क्सले परियोजना लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ । सो कम्पनीसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत अधिकारीले निकट भविष्यमा नै थप सम्झौता हुने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया