उदयपुर – उदयपुरको ताप्ली र लिम्चुङबुङ गाँउपालिकका बाढीपहिरो पीडितका लागि पाँच दिन अघि प्रदेश १ सरकारले पठाएको राहत गोदममै थन्किएको छ । पीडितहरु भने भोकै परेका छन् ।

वास्तविक पीडितका पहिचान नहुदाँ राहात गोदाम मै थन्किएको हो। असार अन्तिमको वर्षातसँगैको बाढी पहिरोले सडक अवरुद्ध भएपछि ताप्ली र लिम्चुङबुङ गाँउलिकामा खाद्यान्न अभाव भएको भन्दै स्थानीय सरकारको माग अनुसार प्रदेश सरकारले आपतकालीन राहतका लागि दाल, चामल, नून र तेल पठाएको हो।

गत बिहीबार र शुक्रबार संघीय सरकारले उपलव्ध गराएको हेलिकप्टरमार्फत प्रदेश सरकारले राहत पठाएको खाद्यान्न ५ दिन वितिसक्दा पनि वितरण हुन सकेको छैन।

प्रदेश सरकारले विराटनगरबाट हेलिकप्टरमार्फत ताप्लीका लागि ३ हजार ९ सय किलोग्राम चामल, ५ सय ७० किलो दाल, २ सय ५० किलो नून र तेल २ सय ५० लिटर पठाएको थियो। त्यसैगरी लिम्चुङबुङका ४ हजार १ सय १० किलो चामल, २ सय ५० किलो दाल, १ सय ५० किलो नून र तेल १ सय ३० लिटर पठाएको विपद् व्यवस्थापन समिति अध्यक्ष तथा गाँउपालिकाको प्रवक्ता समेत रहेका लिम्चुङबुङ—५ का वडाध्यक्ष केशर खड्काले बताए। खडकाका अनुसार राहत भन्दा माग्नेको सख्या बढि भएकोले वितरणमा ढिलाई भएको हो।

बाढीपहिरोको अनुगमन भइरहेकोले वास्तविक पीडित पहिचान गरेर चाँडै राहत वितरण गरिने वडाध्यक्ष खड्काले बताए। ताप्ली गाँउपालिकाले आएको राहत वडाध्यक्षको संयोजकत्वमा सर्वदलीय समिति बनाएर वितरण गर्ने तयारी गरेको जानकारी इमेलमार्फत पाइएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए। -कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया