सिमकोट – हुम्लाका तीन गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु भएको छ । कोरोना सङ्क्रमणको त्रासले झण्डै १० महिनादेखि बन्द यहाँका तीन गाउँपालिकाका ७७ विद्यालय आजदेखि खुलेका छन् । सिमकोट, ताँजाकोट र सर्केगाड गाउँपालिकाका ७७ विद्यालय सञ्चालनमा आएका हुन् ।

लामो समयदेखि कोरोनाका कारण बन्द भए तापनि यतिखेर भने बन्दाबन्दी खुकुलो भएको र कोरोना सङ्क्रमणको त्रास न्यून हुँदै गएपछि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । सिमकोट गाउँपालिकाका निजी तथा सामुदायिक गरेर २८ विद्यालय सञ्चालनमा आएको छ । झण्डै १० महिनापछि विद्यालयमा विद्यार्थीको उत्साहजन उपस्थित रहेको मानसरोवर माध्यामिक विद्यालयका प्राचार्य अमरबहादुर शाहीले जानकारी दिनुभयो ।

पहिलो दिन तीनवटै गाउँपालिकाका विद्यालयमा पढाई शुरु भएकै दिन ८० प्रतिशत विद्यार्थीको उपस्थिति रहेको छ । कोरोना सङ्क्रमणको सुरक्षाका लागि विद्यार्थी तथा शिक्षकका लागि अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने व्यवस्था सम्बन्धित विद्यालयले गरेका छन् ।

त्यसैगरी जिल्लाको मध्य क्षेत्रको सर्केगाड गाउँपालिकाका ३२ वटा विद्यालयमा पठनपाठन एकैसाथ शुरु भएको गाउँपालिकाले जानकारी दिएको छ । नयाँ शैक्षिकसत्र शुरु हुन लागेका बेला पठनपाठन शुरु भएको हुँदा विद्यार्थीको उपस्थित सन्तोषजनक रहेको छ ।

त्यसैगरी ताँजाकोट गाउँपालिकाका १७ विद्यालयमा पठनपाठन शुरु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताउनुभयो । विद्यार्थी र शिक्षकले कोरोना सङ्क्रमणविरुद्धका सामग्री प्रयोग गरेर विद्यालय सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

फागुन २ गतेदेखि हुम्ला जिल्लाका विद्यालयमा नयाँ शैक्षिकसत्र शुरु हुनुपर्नेमा कोरोनाका कारण भर्खर पढाई शुरु भएकाले पठनपाठनलाई तीव्रता दिने विद्यालयले जनाएका छन् । शुक्रबारसमेत पूरा दिन पढाई सञ्चालन गर्ने विद्यालयले जनाएका छन् । पठनपाठन शुरु भएका अधिकांश विद्यालयका शिक्षक विद्यालयमा पुगिसकेको र कोही नआएको भए पनि सम्पर्कमा आइसकेको जनाइएको छ । यसअघि पुस १५ गतेदेखि अदानचुली गाउँपालिकाका विद्यालयमा पठनपाठन शुरु भइरहेको छ भने अब तीन गाउँपालिका नाम्खा, खार्पुनाथ र चङ्खेलीमा चाँडै पठनपाठन शुरु गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएका छन् । हुम्लाका विद्यालयमा पहिलोपटक पुस माघ महिनामा पठनपाठन शुरु भएको हो ।

तपाईको प्रतिक्रिया