दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सवा १ बजे सुनकोशी नदीमा खसेको हो।

डिएसपी माधव काफ्लेले दिएको जानकारी अनुसार घटनास्थलमा दस जनाको शव फेला परेको छ। 

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए।

‘मृतकको संख्या बढ्न सक्छ, हामी खोजी र उद्धार गरिरहेका छौं,’ डिएसपी काफ्लेले भने। मृतकको सनाखत भइसकेको छैन। 

बसमा ४० यात्रु सवार थिए। घाइतेमध्ये ६ जनाको उद्दार गरी अस्पताल पठाइएको काफ्लेले जानकारी दिए। बसका चालक धनबहादुर तामाङ नदीबाट आफैं माथि आएका थिए। लगत्तै उनी बेहोस भएपछि अस्पताल पठाइएको छ। 

उद्धार कार्य जारी रहेको प्रहरीले  जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। 

दुर्घटनाग्रस्त बसलाई क्रेनको सहायताले सुनकोशीको किनारमा ल्याइएको छ।

तपाईको प्रतिक्रिया