चिप्लेढुङ्गा – “आफ्नो हातको कमाइ भनेको साच्चै फरक हुने रहेछ, आफ्नो इच्छा अनुसारको खान लाउन, दुई छोरीका सानातिना रहर पूरा गर्न निकै सहज भएको छ”, मकैको खोस्टाबाट मूडा बुन्दै गर्नुभएकी ३५ वर्षीया हिरा कुँवरले आत्मविश्वासका अभिव्यक्तिका साथ भन्नुभयो, “जम्मा एक कक्षा पढेकी हुँ, अक्षर चिन्न पनि मुस्किल छ, हातमा सीप भएपछि भने बेग्लै ऊर्जा मिलेको छ ।”

पोखरा महानगरपालिका–१७ रातोपैह्राकी उहाँले अहिले हातको सीपले आयआर्जनको बाटोमा लागेको अनुभव सुनाउनुभयो । महिला उद्यमी हिरा भट्टराईको प्रेरणा र साथले पद्मावती हस्तकला उद्योगबाट सीप सिक्ने अवसर प्राप्त गरेपछि आफ्नो जीवनमा सकारात्मक परिवर्तन आएको कुँवर भनाइ छ । “तालिम सिकेर त्यसलाई व्यवहारमा उतारेपछि मात्रै सफल भइन्छ”, उहाँले भन्नुभयो, “एक वर्षअघि मकैको खोस्टाबाट मूडा बनाउने तालिम लिएपछि मैले पनि जीवनमा केही गरेर कमाउन सक्छु भन्ने आँट आयो ।” साउदी अरबमा रहेका श्रीमान्को कमाइबाट १२ र ८ कक्षामा अध्ययरत दुई छोरीका साथ जीवनयापन गर्दै आउनुभएकी कुँवरले अहिले आफ्नो कमाइले जीवनयापनलाई थप सहज बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो “अहिले मासिक रु १० देखि १५ हजारसम्म कमाउन सक्छु, म नपढेकी मान्छे, घरको काम सकेर मूडा बुन्न थाल्छु, दुईदेखि तीन दिनमा मूडा बुनेर सकिन्छ, एउटा मूडाको रु दुई हजारदेखि रु दुई हजार ५०० सम्ममा बिक्री हुन्छ ।” पछिल्लो समय विभिन्न होटल तथा घरमा र विदेश जाने नेपालीले मूडा मनपराउन थालेकाले माग बढ्न थालेको कुँवरको भनाइ छ । सिलाइ कटाइ र मैनवत्ती बनाउने सीप पनि कुँवरसँग छ । राम्रो आम्दानी भने मूडा बुनेपछि हुने बताउनुहुन्छ । बजारबाट रु ५०० देखि रु ७०० सम्मको सादा मूडा किनेर त्यसलाई मकैको खोस्टाले बुन्दै तयार गरिने उहाँले जानकारी दिनुभयो । मकैको खोस्टा रु १०० किलो खरीद गर्ने गरेको सुनाउनुभयो ।

कुँवरले मूडा सँगै चकटी पनि बनाउँदै आउनुभएको छ । हाल पोखराको लेकसाइडमा पहिलो हस्तकला उद्योग स्थापना गरेर मूडालगायतका अन्य हस्तकलाका सामग्री उत्पादन र विक्री वितरण गर्न थाल्नुभएकी कुँवरले अन्य महिलालाई पनि मूडा, चकटी बुन्ने, मैनबत्ती बनाउने तालिम दिँदै आउनुभएको छ । उहाँमा आफ्नो कमाइमा रमाउन पाउँदाको बेग्लै सन्तुष्टी भेट्न सकिन्छ । सानो सानो कुरामा श्रीमान्को कमाइको भर पर्नुपर्ने, खर्च गर्न डराउनुपर्ने अवस्थाको अहिले अन्त्य भएको अनुभव उहाँ सुनाउनुहुन्छ । लायन्स क्लव अफ पोखराले महिला सशक्तिकरण कार्यक्रममार्फत बीउ पूँजीका रुपमा रु १० हजार रकम दिएर उहाँलाई हस्तकला उद्योग स्थापनाका लागि प्रोत्साहन गरेको थियो ।

क्लवका सचिव साधना चालिसेले लायन्स क्लव अफ ३२५ बी १ का डिष्ट्रिक गभर्नर इन्दू लम्सालले ल्याएको ‘सशक्तिकरणका लागि जागाँै’ भन्ने नारालाई सार्थक बनाउने प्रयास अनुरुप थोरै बीउ पूजी उपलब्ध गराएर उद्यमशिलताका लागि प्रोत्साहन गरेको बताउनुभयो । पद्मावती हस्तकला उद्योगका सञ्चालक एवम् कास्की हस्तकला सङ्घका अध्यक्ष हीरा भट्टराईले महिलालाई उद्यमशिल बनाउन सके आर्थिक परनिर्भरता हट्ने विश्वासका साथ सीपमूलक तालिम दिँदै आएको बताउनुभयो । उहाँले महानगरभित्रका २१ वडा र अन्य स्थानमा गरी करीब तीन हजार पाँच सयलाई मकैको खोस्टाबाट चकटी, मूडा, छ्वालीबाट ढकीया, टी म्याट, डिनर म्याट, जलकुम्भीबाट डस्बीन, ब्याग र फेब्रिकबाट फूल, ब्याज, माला बनाउन सीप सिकाइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया