फिदिम – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध राष्ट्र निर्माणका लागि सरकारले हरेक क्षेत्रबाट प्रयत्न गरिरहेको बताएका छन् ।

पाँचथरको हिलिहाङ गाउँपालिका–१ र २ अँध्यारोमुक्त वडा घोषणा गर्न आज आयोजित कार्यक्रममा मन्त्री नेम्वाङले देशका ४० जिल्लामा पूर्ण विद्युतीकरण गर्ने योजना चालु आर्थिक वर्षबाट अघि बढेको जानकारी दिए ।

यही कार्यक्रमअन्तर्गत पाँचथरमा चालु आर्थिक वर्षमा सरकारले करिब रु एक अर्ब ५० करोड बजेट विद्युतीकरणका लागि छुट्याएको मन्त्री नेम्वाङले बताए ।

उनले १/२ वर्षमै पाँचथर जिल्लालाई अँध्यारोमुक्त जिल्ला निर्माण गर्ने कार्यमा जुट्न आग्रह पनि गरे ।

फरक प्रसङ्गमा मन्त्री नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभिन्न सात वटा राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको कार्यलाई द्रूत गतिमा अघि बढाउन आफूले निरन्तर अनुगमनको कार्य गर्दै आएको बताए ।

उनले पुष्पलाल (मध्यपहाडी) लोकमार्गसहित पूर्वी पहाडका विशेष महत्वका तमोर कोरिडोर सडक, मदन भण्डारी सडक, राँके–रबी–भेडेटार सडक, पाथीभरा मन्दिर ताप्लेजुङ सडक निर्माणलाई आफूले विशेष चासो दिएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले मन्त्री नेम्वाङकै अगुवाइमा जिल्लामा विद्युतीकरणको शुरुआत भएको र अहिले उन्बिाटै विभिन्न वडालाई अँध्यारोमुक्त वडा बनाउने कार्य अघि बढ्नु सुखद संयोग रहेको बताए ।

हिलिहाङ गाउँपालिका–१ र २ का करिब एक हजार २०० घरमा विद्युतीकरणको कार्य पूरा भई वडाहरुलाई अँध्यारोमुक्त घोषणा गरिएको गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले जानकारी दिए ।

यी वडाहरु कूल रु आठ करोड ८० लाख ६० हजारको लागतमा विद्युतीकरणको कार्य पूरा भएको हो । विद्युतीकरणलाई नेपाल विद्युत् प्राधिकरण फिदिमबाट प्राविधिक सहयोग, प्राधिकरण इलामबाट रु २० लाख, काबेली कोरिडोर परियोजनाबाट रु दुई करोड ८० लाख, काबेली ‘ए’ जलविद्युत् परियोजनाबाट रु ७६ लाख, हिलिहाङ गाउँपालिकाबाट रु ७४ लाख, अरुण काबेली जलविद्युत् आयोजनाबाट रु तीन लाख ६० हजार, प्राधिकरणको सामुदायिक विद्युतीकरण कार्यक्रमबाट रु दुई करोड ९२ लाख र उपभोक्ताबाट सङ्कलित रु ३२ लाख ५० हजार रकम प्राप्त भएको हिलिहाङ गाउँपालिका–१ वडाध्यक्ष गोपिकृष्ण भण्डारीले जानकारी दिए ।

गाउँपालिकाको –१, २, ५ र ६ मा विद्युतीकरण पूरा भएको छ भने वडा नं ३, ४ र ७ मा विद्युतीकरण कार्य धमाधम भईरहेको छ ।

तपाईको प्रतिक्रिया