इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलका दौरान एभर्टनका मिडफिल्डर आन्द्रे गोमेज गम्भिर घाइते भएका छन्।
टोटनह्यामविरुद्धको खेलमा गोमेज दोस्रो हाफमा गम्भिर घाइते हुँदा स्टेचरमा राखिएर मैदान बाहिर निकालिएको थियो।
उनलाई टोटनह्यामका दक्षिण कोरियाली स्ट्राइकर सन हेउन मिनले ट्याकल गरेका थिए।
मिनले पछाडिबाट गरेको ट्याकलका कारण गोमेज मैदानमा ढलेपछि दुवै टिमका खेलाडी आत्तिएका थिए।
सबै खेलाडीले टाउकोमा हात राख्दै मेडिकल टिमलाई मैदानमा बोलाएको दृष्य देखिएको थियो।
खराब ट्याकल गरेका मिन स्वयम् पनि आत्तिएका देखिएको थियो। खराब ट्याकलका कारण रातो कार्ड पाएका सनले मैदान छाड्ने क्रममा आँसु झारेका थिए।
ट्याकलका कारण पोर्चुगिज मिडफिल्डर गोमेजको दाहिने खुट्टाको गोलिगाँठो भाँच्चिएको छ। उनको सोमबार शल्यक्रिया गर्ने बताइएको छ।
गोमेज गम्भिर घाइते भएका कारण एभर्टनले टोटनह्यामलाई अन्तिम समयमा बराबरीमा रोकेको नतिजा समेत छाँयामा परेको छ।
खेलमा टोटनह्यामले ६३ मिनेटमा डेल अलीको गोलबाट अग्रता लिएको थियो।
७९ मिनेटमा सनले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको टोटनह्यामविरुद्ध एभर्टनले इन्जुरी टाइमको सातौं मिनेटमा बराबरी गोल फर्काएको थियो। एभर्टनका लागि टोसनले गोल गर्दा खेल १–१ गोलको बराबरीमा सकिएको थियो।