भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सडक जोगाउनका लागि सडकमा तौलपुल राख्न थालिएको बताउनुभएको छ । सडक विभागले भरतपुरको आँपटारीमा स्थापना गरेको तौलपुलको आज उद्घाटन गर्नुहुँदै उहाँले यसले सडक जोगाउने र दुर्घटना हुनबाट रोक्ने बताउनुभयो । सडक सुधारका कामहरु भइरहेको भन्दै उहाँले बढी ढुवानी गर्ने सवारी साधनले सडक नबिगारोस् भन्नका लागि तौलपुल राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाटोको क्षमताभन्दा बढी तौल बोकेका सवारी साधनले सडक बिगार्ने र दुर्घटना निम्त्याउने हुँदा रोक्न तौलपुल राखिएको हो ।” नारायणगढ–मुग्लिन सडकखण्डको आँपटारीमा नेपाल सरकारका तर्फबाट पहिलो तौलपुल राखिएको जनाउँदै उहाँले यातायात क्षेत्र र ढुवानी क्षेत्रलाई यसले व्यवस्थित गर्ने बताउनुभयो । ठूलाठूला राजमार्गमा पनि तौलपुल राखिने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “नेपालमा पहिलो इलेक्ट्रिक टोलको ठेक्का व्यवस्थापन गर्न गइरहेका छौँ ।” नयाँ बन्न लागेका सडक अहिलेको युगसँगै प्रविधि मैत्री बन्दै जाने मन्त्री नेम्वाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ सडक प्रविधि मैत्री वनाउँछौँ ।” देशभरमा १० सिक्नेचर पुल बनाउन लागिएको भन्दै उहाँले यस क्षेत्रमा नारायणी नदीमा आकर्षक सिक्नेचर पुल बन्ने जानकारी दिनुभयो । कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै उहाँले भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले आवश्यक प्रक्रिया पूरा गर्नका लागि मन्त्रालय तयार रहेको जनाउनुभयो । सो सडक हुँदै आवतजावत गर्ने मालवाहक सवारी साधनलाई तौलपुलमा तौल लिइनेछ । सडकको क्षमताभन्दा बढी सामान बोकेका सवारीबाट सामग्री झारेर कारबाही गरेर पठाइने बताइएको छ । कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक गगनबहादुर हमालले पुलले सडक दुर्घटना घटाउने र सडकको आयु बढाउने बताउनुभयो । विभागका निर्देशक इ.रामचन्द्र पौडेलले मालवाहक ठूला ट्रकले क्षमताभन्दा बढी सामान बोकेका कारण समस्या हुँदै आएको जानकारी दिनुभयो । सो तौलपुल रु एक करोड २१ लाख ७३ हजारमा जडान गरिएको हो । तौलपुलको क्षमता ८० टन रहेको छ ।

तपाईको प्रतिक्रिया