काठमाडौँ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक बोर्ड मार्फत चाँडो श्रमिकको पारिश्रमिक तोक्न माग गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी नेपालको श्रम ऐन, २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुई÷दुई वर्षमा त्रिपक्षीय सहमतिका आधारमा निर्धारण हुने व्यवस्था गरेको स्मरण गराउनुभएको छ । उहाँले सो प्रावधान अहिलेसम्म कार्यान्वयनमा नभएको जनाउँदै न्यूनतम पारिश्रमिक बोर्डमार्फत पारिश्रमिक तोक्न माग गर्नुभएको हो ।

“साउनको दोस्रो हप्ता पुगीसक्दा पनि सरकारको तर्फबाट श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण हुन नसक्नु दुःखद् कुरा हो, तत्काल न्यूनतम पारिश्रमिक बोर्डको बैठक बोलाएर पारिश्रमिक तोक्न माग गर्दछौँ”, महासचिव राईले भन्नुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु २५ हजार तोक्न माग गर्दै प्रधानमन्त्री तथा श्रममन्त्रीलाई ‘एसएसएस’ पठाउने, प्रमुख जिल्ला अधिकारीमार्फत श्रममन्त्री र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने काम गरिसकेको छ ।

महासचिव राईले सरकारले श्रमिकका मागलाई बेवास्ता गर्दा श्रमिक मारमा पर्नुका साथै सुमधुर औद्योगिक सम्बन्धमा समेत समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारणमा ढिलाइ नगर्न सरकारलाई आग्रह समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया