अध्यक्ष मिलन पाण्डे भन्छन्– उहाँहरूले नयाँ अनुहारलाई ठाउँ दिनुभयो, पछि मनोनयन गर्छौँ

काठमाडौं – विववेकशील नेपाली दलको २८ असोजमा सम्पन्न महाधिवेशनबाट निर्वाचित संघीय नयाँ कार्यसमितिमा यसअघि चर्चामा रहेका नेता बाहिरिएका छन् । निवर्तमान अध्यक्ष उज्वल थापा, प्रदेश ३ प्रदेशसभा सांसदद्वय रमेश पौड्याल र विराजभक्त श्रेष्ठ, रञ्जु दर्शना र पुकार बम महाधिवेशनमा कुनै पदमा पनि उम्मेदवार बनेनन् ।

६ पदाधिकारीसहित १० खुला सदस्य, आठ महिला सदस्य, आठ समावेशी सदस्य र दुई युवा सदस्य गरी ३४ पदका लागि भएको निर्वाचनमा उनीहरूले प्रतिस्पर्धा गरेनन् । निवर्तमान अध्यक्ष थापाले महाधिवेशनअघि नै आफू अध्यक्षमा पुनः नउठ्ने सार्वजनिक घोषणा गरेका थिए । 

अघिल्लो कार्यसमितिमा प्रवक्ता रहेका प्रदेश सांसद पौड्यालले कार्यकारी पदमा नबसेरै पार्टीमा काम गर्न सकिन्छ भन्ने सन्देश दिन नयाँ कार्यसमितिमा नआएको बताए । ‘महाधिवेशनबाट आएको नयाँ कार्यसमितिमा उज्वल थापा, म, विराजभक्त श्रेष्ठलगायत साथी छैनौँ, यो असन्तुष्टिका कारण होइन,’ पौड्यालले भने, ‘पार्टीको कार्यकारी पदमा नबसेरै पनि काम गर्न सकिन्छ नि ।’

नवनिर्वाचित अध्यक्ष मिलन पाण्डेले नयाँ अनुहारलाई स्थापित गर्नका लागि पुराना नेताले उम्मेदवारी नदिएको दाबी गरे । ‘पुराना चर्चित नेता हामीसँगै हुनुहुन्छ, उहाँहरूले नयाँ अनुहारलाई प्रतिस्पर्धाबाट माथि आउन दिन उम्मेदवारी नदिनु भएको हो,’ पाण्डेले भने, ‘उहाँहरूलाई केन्द्रीय समितिमा ल्याउने हामीसँग ठाँउ बाँकी छन् । हामीले उहाँहरूलाई केन्द्रीय समितिमा फेरि ल्याउनेछौँ ।’ 

९९ सदस्यीय संघीय कार्यसमितिमा खुला प्रतिस्पर्धाबाट निर्वाचित पदाधिकारी र सदस्यसहित ३४ जनाबाहेक ४० जना आठ प्रदेशबाट पाँचजनाका दरले चुनिने विधानमा व्यवस्था छ । विदेश समितिलाई पनि प्रदेशकै मान्यता दिइएको छ । प्रदेश समितिका अध्यक्ष र उपाध्यक्ष स्वतः केन्द्रीय सदस्य हुन्छन् । बाँकी तीनजना प्रदेश समितिको निर्वाचनका वेला केन्द्रीय समितिमा निर्वाचित हुनेछन् ।  यसबाहेक २५ सदस्य केन्द्रीय समितिले मनोनयन गर्ने व्यवस्था छ । विधानमा भएका यी व्यवस्थाबाटै छुटेका नेतालाई समेटिने पाण्डेले बताए ।

निर्वाचित कार्यसमितिको पहिलो बैठक
महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक बुधबार बसेको छ । बैठकले पार्टी निर्माण भएपछिको सात वर्षको उतारचढावबारे नागरिकसँग क्षमा माग्ने निर्णय गरेको अध्यक्ष पाण्डेले जानकारी दिए । नेपालमा पहिलोपटक पार्टीले जनतासँग क्षमायाचना गरेको पाण्डेले दाबी गरे । नयाँ पत्रिकामा खबर छ ।

बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनमा उम्मेदवार छान्न पार्टीका निजी सचिव सञ्जीव भट्टराईको संयोजकत्वमा समिति बनाएको छ । समितिको सिफारिसका आधारमा उम्मेदवार चयन गरिने पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया