गुल्मी – वर्षाका कारण गुल्मीको रुरु महोत्सव बिहीबार र शुक्रबार दिनभर प्रभावित बनेको छ । वर्षाले बिहीबार राति रिडी खोलामा बाढी आएसँगै महोत्सवका लागि बगर छेउमा निर्माण गरिएका ३४ वटा होटलका अस्थायी टहरामा बाढी पसेकोले व्यवसायी विस्थापितमा परेका हुन् ।

आज बिहान स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा विस्थापित होटल व्यवसायीका सामग्री सुरक्षित स्थानमा सारिएको थियो । बाढी आएसँगै खोलामा वारपार गर्नका लागि बनाइएको काठको अस्थायी फड्केसमेत बगाइदिएको थियो ।

माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखा र रुरु फ्रेण्डस क्लबको संयुक्त आयोजनामा रुरु क्षेत्र गाउँपालिकाअन्र्तगत रिडीमा मङ्गलबारदेखि माघ ९ गतेसम्मका लागि सो महोत्सवको आयोजना गरिएको थियो ।

वर्षाले महोत्सव प्रभावित बनेपछि महोत्सव आयोजक समितिको आज बसेको बैठकले थप दुई दिन समयावधि बढाउने तयारी गरिरहेको महोत्सव मूल आयोजक समितिका निर्देशक हिमाल श्रेष्ठले जानकारी दिनुभएको छ । “ मौसममा सुधार आयो भने शनिबारदेखि महोत्सव नियमित रुपमा अघि बढ्छ, व्यवसायीहरुको समस्यालाई ध्यानमा राखी समय थप्नुपर्छ कि भन्नेबारेमा छलफल भएको छ,” उहाँले भन्नुभयो ।

दर्शकको उपस्थितिमा कमी नहोस् भनेर यस पटक महोत्सव अवधिभर निःशुल्क रुपमा अवलोकन गर्ने व्यवस्था आयोजक समितिले गरेको छ । पाल्पा, स्याङ्जा र गुल्मीको संगम स्थल रिडीमा माघे सङ्क्रान्तिको अवसरमा तीन दिनसम्म ठूलो मेला लाग्ने गर्दछ । तर यस पटक लगातारको झरी र अत्यधिक चिसोका कारण मेला प्रभावित बनेको हो ।

वर्षाका कारण सडक चिप्लो भएपछि जिल्लाका चार दर्जनभन्दा बढी ग्रामीण सडकहरुमा सवारी साधनसमेत सञ्चालन हुन सकेनन् । सेवाग्राहीहरुको उपस्थिति न्यून भएका कारण आज जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरु सुनसान जस्तै बनेका थिए । -रासस

तपाईको प्रतिक्रिया