वीरगञ्ज – प्रदेश नं. २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–६ लमहा टोलस्थित करिब ३५ वर्षको लामो इतिहास बोकेको सुकुम्बासी बस्ती विद्युत् उपभोग गर्न वञ्चित छन् ।

अति आवश्यक पर्ने विद्युत्लगायतका अन्य पूर्वाधारबाट कोसौ टाढा रहेका सो बस्ती अहिले लालटेन युगमा प्रवेश गरेको अनुभव स्थानीयवासीको छ । उनीहरुको भन्छन्, “देशमा ठूलठूला परिवर्तन भयो, लोकतन्त्रको स्थापना भयो तर यो बस्तीको मुहार भने फेरिएन । ३५ वर्ष पुरानो यो बस्तीका सुकुम्बासीहरु अहिले पनि आदिमकालीन बस्तीको झभmल्को दिने गर्दछ ।” करिव २० घरधुरी रहेको यो बस्ती राष्ट्रिय वनक्षेत्रको चुरे जङ्गलमा बसाइएको एउटा अति पुरानो बस्ती हो । राजनीतिक दलका लागि भोट बैंकको रुपमा रहेको यहाँका सुकुम्बासीहरुले पटकपटक जनप्रतिनिधिहरुलाई गुहारे पनि समस्या जस्ताको त्यस्तै रहेको छ ।

कैयौँ पटक चुनावको समयमा हाम्रो समस्या पूरा गर्ने बाचागरी चुनाव जितेर जाने जनप्रतिनिधिहरु फर्केर आउँदैनन् सुकुम्बासी बस्तीका ६५ वर्षीया फूलमाया पहरीले रासससँग पीडा पोख्दै भनिन्, “नेताहरुले भोट लिएर जाने तर दिएको आश्वासन पूरा हुन्छ भनेर हेर्दाहेर्दै अब त सपनाजस्तो भएको छ ।” त्यति मात्र नभएर यहाँ खानेपानीको व्यवस्थापन नहुँदा हामीहरु लमहा खोलाको धमिलो पानी खान बाध्य रहेको पीडा फूलमायासँग ताजै रहेको छ । विद्युत्को पहँुचबाट टाढा रहेका यहाँका बासिन्दाहरु अझ पनि टुकीकै भरमा उज्यालो भविष्य कोरिरहेकाले आफूहरु लालटेन युगमा जीवनयापन गरिरहेको गुनासो उनीहरुको छ ।

त्यहाँका करिब दुई दर्जन सुकुम्बासी बालबालिकाहरु विद्यालयको अभावमा दिनभरी जङ्गलमा दाउरा, स्याउला, बटुल्नमा व्यस्त हुने गरेको सुकुम्बासी रामलाल पहरीको भनाइ छ । जङ्गल छिचोलेर करिब १० किलोमिटर पूर्वको चन्द्रनिगाहपुर तथा १५ किलो मिटर पश्चिमको निजगढ बजार किनमेलका लागि जानुपर्ने बाध्यता उनीहरुसँग छ । विसं २०४४ तिर मकवानपुरको डाँडःंडुडे गाउँबाट बस्ती हटाएपछि उनीहरु बसाइँ सरी यहाँ आएको हो । ६० वर्षीय खेमलाल पहरी भन्छन्, “तत्कालीन वनमन्त्री हेमबहादुर मल्लको पालामा पहाडको बस्ती हटाएर कटानी गाउँमा विस्तार गरेपनि त्यसबेला हुने खानेले घडेरी पाए तर हामीले जग्गा नपाउँदा सुकुम्बासी भएर नै बस्नु परेको छ ।”

उक्त बस्तीको विकासबारे जिज्ञासा राख्दा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले राष्ट्रिय वनक्षेत्रभित्र रहेका यो बस्तीको पूर्वाधार विकास गर्न कानुनी अड्चन आएकाले उक्त बस्तीमा हालसम्म विकास हुन नसकेको बताउनुभयो । यता, राष्ट्रिय वनक्षेत्रभित्र रहेको उक्त बस्तीमा विद्युत्, विद्यालय, खानेपानीलगायतका विकासका संरचना बनाउन कानुनी रुपमा नमिल्ने भएपछि सोको विकास गर्न नगरपालिका पछि हटेको भन्दै वन अधिकृत विनोद सिंहले राससलाई भन्नुभयो । उक्त बस्ती वनक्षेत्रबाट अन्यत्र हस्तानान्तरण गर्नुपर्ने देखिएको छ । त्यहाँ विद्युत् मुख्य समस्याको रुपमा रहेको छ ।

चुनावको बेला यस बस्तीमा विद्युत्लगायत पूर्वाधारहरु विकास गर्ने मुख्य कार्यसूची नेताहरुले चुनावी मुद्दा बनाउँदै आएको छ । यहाँको सम्पूर्ण जनजीवनलाई विद्युत् अभावले प्रभावमा पारेको छ । यो सुकुम्बासी बस्ती पनि नेपाल कै हो भन्ने रौतहटका जनप्रतिनिधिहरुले अनुभव गर्न सकेका छैन । तर यस सन्दर्भमा यहाँका राजनीतिक दल र त्यसका नेताहरुको उदासिनता र विद्युत् प्राधिकरणको नीतिगत त्रुटीका कारण एकाइसौँ शताब्दीमा पनि ती सुकुम्बासी बस्ती विकास र पूर्वाधारबाट एक्लिएको छ, चन्द्रपुरवासी भन्छन्, “ती सुकुम्बासीहरु विद्युत्को अभावमा लालटेन युगमा रुमल्लिरहेको जस्तो लाग्दछ ।” रासस

तपाईको प्रतिक्रिया