काठमाडौँ – आत्महत्या दुरुत्साहन कसुरमा जिल्ला अदालत चितवनमा पाँच लाख धरौटी बुझाएर छुटेका सञ्चारकर्मी रवि लामिछानेले मंगलबार चितवनमा धन्यवाद सभा राखे । सभामा हजारौं उपस्थित त थिए नै, राजनीतिक दलले गर्ने आमसभाकै झल्को दिने उक्त सभाका सहभागी भने फरक–फरक सामाजिक र राजनीतिक पृष्ठभूमिका देखिन्थे ।

बुधबार काठमाडौं फर्केका सञ्चारकर्मी लामिछानेलाई पछ्याउनेको भीड पनि उस्तै थियो । फौजदारी अभियोगमा मुद्दा खेपिरहेका सञ्चारकर्मीलाई पछ्याउने यति ठूलो संख्या कसरी निर्माण भयो ? रविलाई पछ्याउनेहरू सामान्य प्रशंसक मात्रै हुन् वा राजनीति, विधि र व्यवस्थाबाट दिक्क भएकाहरूको जनमत हो ?

राजनीतिकशास्त्री कृष्ण खनालको बुझाइमा सामाजिक सञ्जालको माध्यमबाट जोडिएका र त्यसैबाट रविलाईपछ्याएकाको समूहलाई सामान्य ठानेर नजरअन्दाज गर्न मिल्दैन । ‘रविलाई पछ्याइरहेको र यही मुद्दामा जोडिएर आफ्नो मत राखिरहेको ठूलो समूहलाई परम्परागत राजनीतिबाट वितृष्णा भइरहेको जनमतका रूपमा पनि बुझ्न सकिन्छ,’ उनले भने । खनालका बुझाइमा राजनीतिक दलहरू परम्परागत सोचाइका छन्, जबकि नयाँ पुस्ता प्रविधि, सञ्चार र सामाजिक सञ्जाल सम्पर्कले बदलिइसकेका छन् ।
‘धेरैजसो नेताहरू बदलिँदो दुनियाँबारे जानकार छैनन्, नयाँ प्रविधिबारे ख्याल छैन । केही केही सामाजिक सञ्जालमा छिरेका त छन्, तर त्यो पनि अरूको सहयोगमा । उनीहरूमा समयअनुसार बदलिने सोच र सिक्ने चाहना दुवै देखिँदैन,’ उनले भने । यस्तो पृष्ठभूमिमा टेलिभिजन, सामाजिक सञ्जाल र युट्युबमार्फत लामिछाने जर्बजस्त रूपमा उदाएका हुन् । खनालका अनुसार सामाजिक सञ्जालकोबढ्दो प्रयोगकर्तालाई सम्बोधन गर्ने सीप, शैली र कौशल हाम्रो राजनीतिमा देखिन्न ।
त्यही रिक्तता अरू कसैले प्रयोग गरिरहेको छ । त्यसैको प्रमाण हुन सक्छ, सञ्चारकर्मी लामिछानेलाईपछ्याउनेको भीड । राजनीति, विधि र व्यवस्थाबाट असन्तुष्ट भएकालाई तुस व्यक्त गर्ने सबैभन्दा सजिलो माध्यम हो, सामाजिक सञ्जाल । खनाल ठान्छन्, सामाजिक सञ्जालको फैलिँदो शक्ति, यसलाई प्रयोग गरेर अरूमाझ चिनिने अभिलाषा र यस्तो प्रवृत्तिलाई अनदेखा गरिरहेको राजनीति पछिल्लो समयको चरित्र हो ।
‘यस्तो प्रवृत्ति विद्यमान राजनीति र सरकारलाई मात्र नभएर व्यवस्थालाई नै ठूलो च्यालेन्ज हो,’ उनले भने । नेकपाका नेता राम कार्की दुई तिहाइको सरकारले प्रगतिशील विकल्प दिन नसक्दा समाजमा असन्तुष्टि बढिरहेको ठान्छन् । समाजले विकल्प खोजिरहेको, मान्छेले हेरफेर चाहेको समयमा असन्तुष्टि अनेकन स्वरूपमा प्रकट हुने उनले बताए ।
नेपाली जनता प्रत्येक दशकको अन्तरालमा परिवर्तनका निम्ति उठ्ने गरेको विगत सुनाउँदै उनले भने, ‘राजनीति र सामान्य मान्छेबीचको बढ्दो दूरीका कारण पनि असन्तुष्टि एकत्रित हुँदै गइरहेको छ ।’ आम जनतामा हुर्किंदो कुण्ठा, निराशा र बहुमतको सरकारसँग गरेका अपेक्षा पूरा हुन नसकिरहेको यथार्थ र त्यसबाट निर्मित छटपटीले मानिसलाई बाहिर आउने वातावरण बनाइरहेको उनले बताए । ‘सञ्चारकर्मी लामिछाने पक्राउपछि देखा परेका घटनाक्रमहरू दल र सरकारका निम्ति घन्टी हो ।’
लामिछानेको पक्षमा देखा परेको जनमतलाई लिएर सामाजिक सञ्जालमा फरक–फरक अभिव्यक्ति सार्वजनिक भइरहेका छन् । एकथरीले यसलाई वर्तमानको असन्तुष्टि र विरोधका रूपमा अर्थ्याइरहेका छन् भने अर्कोथरीले लामिछानेले विधि र व्यवस्थाबाट सम्बोधन नभएका समस्यालाई टेलिभिजन कार्यक्रममार्फत सम्बोधन गर्ने शैलीको उपज ठानिरहेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा कवि सीमा आभासले लेखेकी छन्, ‘आफैंले भोट दिएर जिताएका नेतासँग आजित भएका जनता रविको टीभी कार्यक्रम जनतासँग सिधा कुराले कति धेरै आशावादी भएका रहेछन् । हाम्रो निराशाको हद कहाँसम्म पुगेको छ ? एउटा मामुली टीभी कार्यक्रम प्रस्तोतासँग जनताहरू न्याय, सुशासन र समृद्धिको आस राख्न बाध्य छन् । लोकतन्त्रको मृगतृष्णा ।’ -कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया