काठमाडौँ– कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ स्थित भद्रबासमा नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवन बन्ने भएको छ ।

भवनको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आज शिलान्यास गर्नुभयो । नगरपालिकाले उपलब्ध गराएको सात आना जग्गामा भवन बन्न लागेको हो । नगरपालिकाले गरेको अनुमानित लागतअनुसार रु ५० लाखमा एक हलसहित चारकोठे भवन निर्माण हुनेछ । भवन निर्माणका लागि मन्त्री फुयाँलले प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट रु १५ लाख बजेट उपलब्ध गराउनुभएको उपशाखाले जनाएको छ ।

भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री फुयाँलले मुख्यमन्त्रीको अध्यक्षतामा बिहीबार वाग्मती प्रदेश यातायात सञ्चालन बोर्ड गठन गरिएको जानकारी दिनुभयो । बोर्डले ३० विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको जानकारीसमेत उहाँले दिनुभयो । बोर्डका लागि तीन अधिकारी खुला प्रतियोगिताबाट पूर्ति गर्न लागिएकोसमेत जनाइएको छ ।

“प्रदेश सरकारले तीन प्रतिशत ब्याजमा सहुलियत ऋण दिएर आयआर्जन गर्न चाहनेलाई सहयोग गर्न कार्यविधि ल्याएको छ, यसका लागि प्रदेश सरकारबाट रु तीन अर्ब बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो ।

प्रदेश सरकारले उपत्यकाका काठ क्षेत्रका तीनै जिल्ला जोडिने गरी १५५ किमी लामो काठ उपत्यका चक्रपथ निर्माणका लागि छिट्टै ठेक्का गर्न लागेको जानकारीसमेत उहाँले दिनुभयो ।

कार्यक्रममा सोसाइटीका काठमाडौँ शाखा सभापति मथुराराम श्रेष्ठले सरकारले जेनेभा सन्धिमा हस्ताक्षर गरेपछि मात्र रेडक्रस स्थापना हुनसक्ने भएकाले अरु सामाजिक संस्थाजस्तो बुझ्न नहुने बताउनुभयो ।

शाखाका मन्त्री श्यामकाजी डोटेलले काठमाडौँका फर्पिङ, कपन र शङ्खरापुर शाखाले यसअघि नै भवन निर्माण गरिसकेकामो जानकारी दिनुभयो । उपशाखाका लागि गाडी सहयोग गर्न पनि शाखाले पहल गर्ने उहाँको प्रतिबद्धता थियो । उपशाखा सभापति वासुदेव पौडेलले भवनमा १२ बाई २४ को एक हलसहित चार कोठा निर्माण गरिने बताउनुभयो ।

प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त रु १५ लाखबाहेक अरु बजेट चन्दाबाट नै सङ्कलन गर्नुपर्ने उपशाखाका सचिव लक्ष्मीप्रसाद कुइँकेलले जानकारी दिनुभयो । भवन निर्माणका लागि छुट्टै समिति गठन गरी सहयोग जुटाउने काम भइरहेको उपसभापति हरिशरण ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया