नेपाली कांग्रेसको पदाधिकारी बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि सहभागी गराइने भएको छ।

सभापति शेरबहादुर देउवाले शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा पौडेल र सिटौलालाई पनि पदाधिकारी बैठकमा सहभागी गराउने प्रस्ताव राखेपछि अनुमोदन भएको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार अपरान्ह ३ बजे सभापति निवास बुढानिलकण्ठमा बस्ने बैठकमा बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौला सहभागी हुने जानकारी दिए।

उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न कांग्रेस पदाधिकारी बैठक बस्न लागेको उनले बताए।

मंसीर १४ गते एक संघीय क्षेत्र, तीन प्रदेशसभा क्षेत्र र रिक्त स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। त्यसका लागि कात्तिक २१ गते उम्मेदवार मनोनयन गरिसक्नुपर्ने कार्यतालिका यसअघि नै निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।

उम्मेदवार मनोनयन गर्न चार दिन बाँकी रहँदा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो।

उम्मेदवार चयन गर्ने समिति कांग्रेसभित्र गठन नभएकोले बाधा अड्काउन फुकाउन शुक्रबार बस्ने केन्द्रीय समितिले पदाधिकारीलाई अधिकार दिएको थियो।

‘सहमति र सर्वपक्षीय छलफलबाट उम्मेदवार चयन गर्ने तयारीसाथ सभापतिले बरिष्ठ नेता र पूर्वमहामन्त्रीलाई पनि पदाधिकारी बैठकमा सहभागी गराउने प्रस्ताव गरेअनुसार निर्णय भएको हो,’ शर्माले सेतोपाटीसँग भने, ‘उम्मेदवार चयनका लागि मात्रै उहाँहरू पदाधिकारी बैठकमा सहभागी हुन पाउने हो।’

कास्की २ मा उम्मेदवार हुन जिल्लाले १६ जना आकांक्षीको नाम केन्द्रमा पठाएको छ। पार्टीले तीन जनाको नाम सिफारिस गर्न आग्रह गरे पनि त्योभन्दा धेरै संख्यामा नामहरू आएका छन्।

कांग्रेसले चुनाव जित्ने लोकप्रिय उम्मेदवार खोजी गरिराखेको जनाएको छ। गुटगट भागबन्डाका आधारमा भन्दा पनि स्थानीयस्तरमा र संगठनमा काम गरेकोलाई प्राथमिकता दिने कांग्रेसको तयारी छ।

गत महाधिवेशन पौडेल  र सिटौला सभापतिमा पराजित भएका थिए। सभापतिमा पराजित भएसँगै उनीहरू कांग्रेसको आठ सदस्यीय पदाधिकारीमा छैनन्। कांग्रेसको विधानअनुसार सभापतिले चाहे आमन्त्रित सदस्यका रूपमा केन्द्रीय सदस्यहरूलाई पदाधिकारी बैठकमा सहभागी गराउन सक्छन्।

तपाईको प्रतिक्रिया