काठमाडौं,१३ कार्तिक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध मधेसी जनताहरु जाग्नुपर्ने बताएका छन्। छठ पर्वका अवसरमा बुधबार महोत्तरीको पिपरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर १४ गते हुने उपनिर्वाचन भ्रष्टाचारविरुद्ध मत जाहेर गर्ने अवसर भएको उल्लेख समेत गरे। ‘मंसिर १४ गते हुने उपनिर्वाचनमा पिपरा गाउँपालिकामा अध्यक्ष र महोत्तरीकै अन्य गाउँपालिकाको वडाका जनताले सुशासनपक्षमा, भ्रष्टाचारविरुद्ध मत जाहेर गर्न अनुरोध गर्छु, उनले भने, ‘सुशासन र भ्रष्टाचारविरुद्ध मत गर्ने ठूलो अवसर महोत्तरीका जनताले उपनिर्वाचनमार्फत प्राप्त गरेकाले यो अवसर खेर जान दिनुहुँदैन। पिपरामा भ्रष्टाचारविरोधीले जित्नुपर्छ।

फाईल तस्विर

अध्यक्ष दाहालले तराई–मधेसका जनतासँग हृदयदेखिकै प्रेम कायमै रहेको बताए। मैले तराई–मधेसका जनतासँग हृदयदेखि नै प्रेम रहेको कुरा पहिले नै भनेको थिएँ उनले भने, ‘तराई–मधेसका जनताको हकाधिकार निम्ति यहाँका जनतासँगको प्रेम रहिरहनेछ, त्यो माया अझै जारी छ।’ अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीकै नेतृत्वमा तराई–मधेसको विकास भइरहेको पनि जिक्किर गरे । ‘काठमाडौं–तराई द्रुतमार्ग मेरो पालामा निर्माण सुरु भएको हो। जनकपुर–भिट्टामोड सडक पनि कम्युनिष्टकै पालमा थालेका हौँ उनले भने, ‘तर जनकपुर–भिट्टामोड सडक कछुवाको गतिमा बनिरहेको छ।

यही अवस्थामा रहिरहे हामी नै यहाँका जनताको नेतृत्व गरेर आन्दोलनमा आउनुनपरोस्।’ अध्यक्ष दाहालले तराई–मधेसमा बनिरहेको हुलाकी राजमार्गको अवस्थाबारे आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आँखामा आँखा जुधाएर कुरा गरेको पनि दाबी गरे। ‘हुलाकी राजमार्ग १६ वर्षदेखि अलपत्र परेको देखेर पीडाबोध भयो । मैले यसबारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आँखामा आँखा जुधाएर कुरा गरेको छु’, दाहालले भने, ‘हुलाकी राजमार्ग नबनेको १६ वर्ष भयो। किन बनेन भनेर मैले मोदीजीलाई सीधा सोधेको छु। त्यसपछि सिरहामा आएर मैले शिलान्यास गरेको हुँ।

तपाईको प्रतिक्रिया