जिल्लाका नदी तथा खोलाबाट मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् भइरहेको जिल्ला समन्वय समिति कञ्चनपुरले जनाएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले महाकाली, बगुन, बण्डलगायतका साना तथा ठूला नदी र खोलानालाबाट मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् भइरहेको बताए । उनले चुरे दोहनसमेत नरोकिएको बताए ।

‘हामीले महाकालीसहित केही खोलानालाको स्थलगत अनुगमन गरेका थियौँ,’ जिसस प्रमुख तामाङले भने, ‘जम्मै खोला तथा नदीनालामा अवैध रूपमा उत्खनन् भइरहेको पाइयो ।’ यसबारे सचेत गर्न सम्बन्धित स्थानीय तहलाई पत्राचार गरे पनि स्थानीय तहबाट मापदण्डविपरीत भएका कार्य रोक्न कुनै पहल नभएको जिसस प्रमुख तामाङले बताए । बगुन र बण्ड खोलाबाट अवैध उत्खनन् भइरहेको अवस्थामा सवारी साधन नियन्त्रणमा लिएर कारबाही गर्दा जनप्रतिनिधिले नै उनीहरूलाई छुटाएको तीतो सत्य रहेकोसमेत उनले बताए ।

‘कारबाही गर्ने हामीलाई अधिकार छैन,’ जिसस प्रमुख तामाङले भने, ‘सम्बन्धित स्थानीय तहलाई निर्देशन दियो, निर्देशनको पालना नै हुँदैन ।’ जिससले दुई वर्षदेखि अवैध उत्खनन् रोक्न स्थानीय सरकारलाई निर्देशन, सुझाव दिँदै आए पनि अहिलेसम्म पालना नभएको उनको भनाइ छ । राजमार्ग, सहायक राजमार्ग, पुलपुलेसा, कल्भर्ट, नहर, तटबन्धको पाँच सय मिटर तल वा माथि ढुंगा, बालुवा, ग्राभेल, माटो झिक्न पाइँदैन भने अन्य स्थानबाट पनि एक मिटर गहिराइसम्मको मात्रै झिक्न पाइन्छ । जिसस प्रमुख तामाङले भने, ‘तर जनप्रतिनिधिकै आडमा चुरे, खोला र नदी अन्धाधुन्ध उत्खनन् भइरहेको छ ।’

कञ्चनपुरका स्थानीय तहहरूले भने जिसस प्रमुख तामाङले भनेजस्तो अवैध उत्खनन् र चुरे दोहन नभएको दावी गरेका छन् । वेदकोट नगरका प्रवक्ता नरेश सिंहले चुरे दोहन र अवैध उत्खनन् नभएको दावी गरे । ‘वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसारै उत्खनन् भइरहेको छ,’ उनले भने, ‘हामीले ठेकेदारलाई समेत मापदण्डविपरीत उत्खनन् भए कारबाही गर्छौँ भनेर स्पष्ट निर्देशन दिएका छौँ ।’ जिससमा भएको बैठकको निर्णयअनुसारै राष्ट्रिय गौरब र ठूला योजनामा भने ठूला साधन प्रयोग गरेर उत्खनन् गरिएको उनको भनाइ छ । कञ्चनपुरका प्राकृतिक स्रोत साधनको सही व्यवस्थापन नभए भविष्यमा संकट आउने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । – नयाँ पत्रिका

तपाईको प्रतिक्रिया