कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का गोपालसिंह कार्कीले माछापालन व्यवसायबाट वार्षिकरुपमा रु २० लाख बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले पाँच बिघा १० कट्ठा जग्गामा नौ पोखरी निर्माण गरी माछापालन गर्दै आउनुभएको छ । वडामा भित्र सो व्यवसायबाट सबैभन्दा बढी आम्दानी गर्नेमा उहाँ पहिलो नम्बरमा हुनुहुन्छ । उहाँ निर्वाचित वडासदस्य हुनुहुन्छ ।

उहाँको पोखरीमा रोहु, नैनी, कमन, ग्रास, भ्याकुर, विगेट र पंगासिस जातका माछा पालिएका छन् । वार्षिक रु एक करोड बढी खर्च हुन्छ उहाँले भन्नुभयो, “तर रु २० लाख बढी आम्दानी हुँदैन ।” वार्षिकरुपमा ३०० क्विन्टल बढी माछा पोखरीमा उत्पादन हुने गरेको छ । उत्पादित माछा स्थानीय बजारसँगै डडेल्धुरालगायतका जिल्लामा खपत हुने गरेको छ । व्यावसायिक माछापालनमा तालिम समेत लिनुभएका उहाँले सातवर्ष अगाडि व्यवसाय शुरुआत गर्नुभएको थियो ।
उहाँको माछा फार्ममा चार कामदारले रोजगारी पाएका छन् । उहाँले भन्नुभयो, “माछापालनलाई व्यावसायिकरुपमा गरिए गतिलो आम्दानी लिन सकिन्छ । ” उहाँले नगरपालिकाबाट पोखरी निर्माणका लागि रु तीन लाख अनुदान रकमसमेत पाउनुभएको छ । उहाँले माछापालनसँगै कुखुरापालन समेत गर्दै आउनुभएको छ ।

वडाध्यक्ष सुरेन्द्र विष्टले समेत पोखरी निर्माण गरी माछापालनमा संलग्न हुनुभएको छ । पन्ध्र कट्ठा जग्गामा पोखरी निर्माण गरी चार हजार भुरा हालेको उहाँले जानकारी दिनुभयो । गत वर्ष पोखरीबाट दुई क्विण्टल माछा बिक्री भएको थियो उहाँले भन्नुभयो, “यस वर्ष पोखरीमा भुरा बढी छाडिएकाले आम्दानीमा बढोत्तरी हुन्छ ।”

वडालाई माछा पकेट क्षेत्रमा विकास गर्ने कार्य अगाडि बढाइएको छ । अधिकांश किसान व्यावसायिकरुपमा माछापालनमा सम्लग्न रहेका छन् । नगरपालिकाले पोखरी निर्माण गर्ने किसानलाई प्रतिकट्ठा रु १० हजारका दरले अनुदान दिने व्यवस्था गरेको छ । थोरै मेहनतमा माछापालनबाट गतिलो आम्दानी हुने भएपछि माछापालनमा लागेको स्थानीय किसान देवराज कलौनीले बताउनुभयो । उहाँले भन्नुभयो, “माछापालनबाट खेतीभन्दा दश गुणा बढी आम्दानी हुँदै आएको छ । खेती गरेर थोरै आम्दानी हुन्थ्यो । ”

माछा उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउन योजनाबद्धरुपमा कार्यक्रम अगाडि सारिएको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो । माछाका भुरा, औजार र पोखरी निर्माणलगायतमा अनुदानको व्यवस्था गरेका छौँ उहाँले भन्नुभयो, “किसानलाई माछापालनमा व्यावसायिक बनाउनका लागि तालीम दिई दक्ष बनाउनका लागि वडा र नगरस्तरबाटै कार्यक्रम सञ्चालन गरिएका छन् ।”

तपाईको प्रतिक्रिया