काठमाडौं, १४ कार्तिक । बुधबार साँझ धरानमा श्रीमानले श्रीमतीको विभत्स हत्या गरेका छन् । सुनसरीको धरान उपमहानगरपालिका–१५ खोरियावस्ती बस्ने ३१ वर्षीय अर्जुन राईले २३ वर्षीया श्रीमती जीना राईको विभत्स हत्या गरेको हा ।

प्रहरीका अनुसार घटना जीना माइतबाट आएकै दिन बुधबार साँझ ८ बजेतिर भएको हो । श्रीमानसँग घरायसी मनमुटाव भएपछि जीना एक महिनाअघि माइत घर गएकी थिइन् । जीनालाई बुधबार मात्रै सम्झाईबुझाई गरेर अर्जुनले तिहारको भाइटीका सकिएपछि घर ल्याएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

इलाका प्रहरी कार्यालयका डीएसपी ढुण्डीराज न्यौपानेले घरायसी मनमुटावको कारण निर्माणधिन सेउती खोलाको पुल नजिकै लगेर अर्जुनले श्रीमती जीनाको टाउकोमा ढुङ्गाले हानेर विभत्स हत्या गरेको पुष्टि गरे ।

घर आइसकेपछि साँझ जीनाले माइतबाट ल्याएको कोसेली मिलर दुवै जनाले खाए । जीनाले श्रीमानलाई रक्सी समेत किनेर ल्याएर खान दिएको पाइएको छ । खाइसकेपछि दुवैजना सहमतिमा एकछिन टहलिन घरनजिकैको सेउती खोलाको निर्माणाधीन पुलमा निस्केका थिए ।

एक महिनापछि भेट भएका उनीहरुबीच बाहिर निस्केर पुल पुग्ने बित्तिकै फेरि विवाद हुन थाल्यो । विवाद हुन थालेपछि अर्जुनले एक्कासी ढुङ्गा प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

डीएसपी न्यौपानेका अनुसार अर्जुनले प्रारम्भिक बयानमा ‘अरु केटासँग शंका लागेपछि बेला–बेला विवाद भने हुने गरेको थियो । त्यही झोकमा आएर हत्या गरेको हुँ ।’

श्रीमतीको हत्यापछि शव पुलमै छाडेर अर्जुन भागेका थिए । पक्राउ पर्ने डरले बाझगरा सामुदायिक वन नजिक रहेको सेउती खोलाको अर्को पुलमूनि लुकिबसेको अवस्थामा ११ः२५ बजे अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका राईमाथि कर्तव्य ज्यान मुघामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ०७० सालमा एकापसमा प्रेम भएपछि उनीहरुले भागी विवाह गरेका थिए । उनीहरुका ६ वर्षीया एक छोरी छ ।

तपाईको प्रतिक्रिया