काठमाडौँ – महेन्द्र राजमार्गको विकल्पका रुपमा हेरिएको मदन भण्डारी राजमार्गको निर्माण चाँडो सम्पन्न गर्न कार्यालय विस्तार गरिने भएको छ ।

मदन भण्डारी राजमार्ग निर्देशनालयअन्तर्गत अहिलेसम्म तीन ठाउँमा कार्यालय रहेकामा छिट्टै झापाको दमकमा कार्यालय स्थापना गर्न लागिएको आयोजना निर्देशनालयका प्रमुख उमेशविन्दु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सो कार्यालयले १२० किलोमिटर सडक हेर्नेछ । पहिले सञ्चालनमा रहेका सडक स्तरोन्नतिको काम भइरहेको छ । कतिपय सडक डिभिजन सडक कार्यालयले नै निर्माण गरिरहेको उहाँले बताउनुभयो । निर्देशनालयअन्तर्गत अहिले गाईघाट, तम्घास र हेटौँडामा कार्यालय रहेका छन् । डिभिजन कार्यालय दाङ र सुर्खेतले पनि राजमार्गमा निर्माणको काम गरिररहेका छन् ।

उहाँले भन्नुभयो, “कतै पनि नयाँ सडक खोल्नुपर्ने नभएकाले यी कार्यालयले सडक स्तरोन्नति भइरहेको छ ।” पहिले नै सञ्चालनमा रहेको सडक भएकाले यस राजमार्ग अन्तर्गतका सडक विभिन्न निकायले हेर्दै आएको प्रमुख श्रेष्ठले बताउनुभयो । ७७५ किमी सडक निर्देशनालयले अरु सडक नेपाल सरकारकै अरु कार्यालयले निर्माणको काम गरिरहेका छन् ।

पूर्व–पश्चिम राजमार्ग, मध्यपाहाडी लोकमार्ग र हुलाकी राजमार्गपछि यो पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेका छन् । नयाँ ट्र्याक खोल्नेभन्दा सञ्चालनमा रहेका टुक्राटुक्रा सडक जोडेर राजमार्ग बन्नेछ । झण्डै एक हजार २५० किमी लम्बाइको सडक आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हालसम्म सडकमा ६५ प्रतिशत र पुलमा ८५ प्रतिशत काम सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया