भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भेटी नभएर गुठी संस्थानको सम्पत्ति संरक्षण गरेर खुसी बनाउन आग्रह गरेकी छन्।

गुठी संस्थानको ५६ औं वार्षिकोत्सव समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन्।

मन्त्री अर्यालले गुठीको जग्गा बचाएर, सुशासन कायम गराएर मन्त्रालयलाई खुसी गराउन गुठी संस्थानका नेतृत्वलाई निर्देशन दिइन्।

‘मन्त्रालयलाई खुसी कुनै भेटी चढाएर गराउनुपर्दैन। कहीँ सुनिन्छ ‘माथि दिनुपर्छ कहाँ हो माथि दिने? च्याप्प समाएर ल्याउनुस्’, मन्त्री अर्यालले भनिन्, ‘हाम्रो भावना तपाईंहरूले बुझ्नुभएको छ हाम्रो टिम सुशासनका निम्ति प्रतिबद्ध भएर लागेको छ। गुठी संस्थान हिजोको होइन अब समयानुकूल प्रतिबद्ध भएर लाग्ने हो।’

मन्त्री अर्यालले गुठीयाराहरूको भावनामा चोट नपुगोस् भन्ने कुरामा मन्त्रालय संवेदनशील भएको भन्दै गुठीयारालाई देखाएर व्यक्तिको निजी स्वार्थलाई पूरा गर्न लाग्ने तत्वप्रति भने मन्त्रालय होसियार रहेको बताइन्।

सबै धर्म संस्कृति राज्यको नजरमा समान छन् है भन्ने कुरा संविधानमा लेखेपछि त्यसकै बाटोमा राज्य अहिले हिँडिरहेको भन्दै गुठी संस्थानको अझ बढी जिम्मेवारी रहेको बताइन्।

संस्थान धर्म, संस्कृति, सम्पत्ति संरक्षणकै निम्ति गठन भएको भन्दै उनले त्यसकारण बढी जिम्मेवारी संस्थानकै हुने बताइन्।

आजसम्मका कामको समिक्षा गरेर एउटा निष्कर्ष निकालेर अगाडि बढ्न संस्थानको नेतृत्वलाई निर्देशन दिँदै मन्त्री अर्यालले संस्थानबाट सम्पादन भएका काम कति पूरा भए कति भएनन् भनेर आत्मसमिक्षा गरेर अगाडि बढ्न निर्देशन दिइन्।

तपाईको प्रतिक्रिया