म्याद सकिएको १४ महीना बितिसक्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन । विसं २०७५ को असारमा कालोपत्रे गरी सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल अझै कालोपत्रे हुन नसकेको हो ।

ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा सबै काम सकिएर कालोपत्र मात्रै गर्न बाँकी रहेको निर्माण कम्पनीका इञ्जिनीयर पुरन रावलले बताउनुभयो । निर्माण सामग्रीको अभावले काम पूरा हुन नसकेको उहाँले बताउनुभयो । “ठेक्का भइसकेपछि विविध कारणले समयमै काम शुरु नहुँदा पनि समस्या भएको हो”, उहाँले भन्नुभयो । वर्षात् र अन्य प्राविधिक कारणले केही ढिलाइ भएको र अलकत्रा र गिट्टीको अभावले समयमै कालोपत्रे गर्ने काम नसकिएको रावलको भनाइ छ ।

विमानस्थल निर्माण शुरु भएपछि इन्धनको अभाव, बेलाबेलामा हुने बन्द हडताल र निर्माण कम्पनीको पनि केही लापरवाहीले काम समयमै सम्पन्न हुन नसकेको बताइएको छ । पाटन विमानस्थललाई स्तरोन्नति गर्ने कार्यअन्तर्गत ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । वर्षात् भइरहेकाले कालोपत्रेको काम रोकिएको हो । वर्षात् सकिने बित्तिकै कालोपत्रेको काम शुरु गर्ने इञ्जिनीयर रावलले बताउनुभयो । विमानस्थलाई कालोपत्रे गर्ने कार्यअन्तर्गत बेस, सव बेस र ड्रेनको सबै काम सकिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विसं २०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनःनिर्माणको काम शुरु भएको हो । पाटन विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ ।

सो कार्यका लागि मूल्य अभिवृद्धि करबाहेक रु ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ । विकास निर्माणका काम समयमै नसकिने रोगजस्तै भइसकेको पाटनका स्थानीय दिनेश विष्टको भनाइ छ ।

पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि हवाई सेवा शुरु भएको थियो । त्यस्तै २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।

विमानस्थल कार्यालयका भवन १२ बर्षे द्वन्द्वकालमा ध्वस्त भएको थियो । साथै विमानस्थल पुनः सञ्चालन नहुँदा गौचरन, खेलमैदान तथा सवारीसाधन सिक्ने मैदानमा परिणत भएको थियो ।

पाटन विमानस्थल कैलालीको गेटापछि सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो । नेपाल सरकारले घोषणा गरेको दश नमूनाध्येको एक शहरमा पर्ने पाटनको विमानस्थल सञ्चालन हुन सक सो क्षेत्रको मात्र नभएर पर्यटक आवागमन बढाउन सकिने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया