बैतडीका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन् । वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहले जनाएका छन् ।

जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एउटा वडामा पनि सचिव छैनन् ।

ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालकमार्फत वडाको काम गराउँदै आएका छन् ।

पाटन नगरपालिका–१० वडामध्ये ७ वडा सचिवविहीन रहेका नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । 

यस्तै डिलाशैनी गाउँपालिका–७ वडामध्ये एक वडामा मात्रै सचिव रहेका गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताए।

दोगडाकेदार गाउँपालिका–८ वडामध्ये दुई वडामा मात्रै सचिव रहेका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए । 

यस्तै पुरचौंडी नगरपालिकाका–१० वडामध्ये एक वडामा मात्रै सचिव रहेका र अन्य वडामा प्राविधिक सहायकले काम सञ्चालन गरिरहेका नगरपालिकाका उपप्रमुख जानकी बमले बताए । 

सुर्नया गाउँपालिकाका आठ वडामध्ये एक वडामा पनि सचिव नरहेका गाउँपालिकाका नायब सुब्बा धनबहादुर चन्दले जानकारी दिए ।

यस्तै जिल्लाको पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकामा पनि ११ वडामध्ये चार वटामा मात्रै सचिव रहेका बताइएको छ । 

वडा कार्यालयमा सचिव नहुँदा वडामै हुने कामका लागि गाउँपालिका तथा नगरपालिकाका केन्द्रसम्म धाउनु परिरहेको स्थानीयले बताएका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि काम गर्न सजिलो होला भन्ने आशा गरेका नागरिक निरास हुन थालेका छन् । 

कर्मचारीको अभावमा वडामा सेवा नपाउँदा उनीहरू खिन्न भएका हुन् । कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारीविहीन भएका हुन् ।
 

तपाईको प्रतिक्रिया