लमजुङ -मनाङ जोड्ने बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ ।

बिहीबारबाट निरन्तर परेको वर्षाले आज बिहान ११ बजेदेखि विभिन्न स्थानमा पहिरो जाँदा यस सडक अवरुद्ध भएको हो यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिकाको स्याङ्गे, च्याम्चे र नासों गाउँपालिकास्थित सिरन तालमा पहिरो जाँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय दमौलीका सवइन्जिनीयर सुमन अधिकारीले बताउनुभयो । सडक माथिबाट पहिरो आएर सडक अवरुद्ध बनाएपछि सडक डिभिजन कार्यालयको ‘जेसिभी’ ले सडक खुलाउने प्रयास भइरहे पनि विभिन्न स्थानमा पहिरो गएकाले समस्या भइरहेको उहाँको भनाइ छ ।

अवरुद्ध सडक खुलाउँदै गरेपनि फेरि पुनः ढुङ्गा माटो झरिरहेकाले भोलिसम्म नै सडक अवरुद्ध हुन सक्ने उहाँले बताउनुभयो । यस सडक अवरुद्ध हुँदा यात्रु तथा अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटकहरु मर्कामा परेका छन् । निश्चित समयमा आफ्नो गन्तव्यमा पुग्न नसक्दा यात्रुहरु बाटोमै अलपत्र परेको बताइएको छ । विदेशी पर्यटकहरु जोखिम मोलेर पहिरो माथिबाटै हिँडडुल गरिरहेका छन् ।

यस सडकखण्डमा यसअघि समेत पटकपटक सडक अवरुद्ध भएको थियो । बेँसीशहर–चामे सडक ६५ किलोमिटर लामो दूरी रहेको छ । यस सडकमा दैनिक दर्जनौँ सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया