सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ग्राण्डी अस्पताल पुगेका छन्।

प्रधानमन्त्री ओली बुधबारदेखि ग्राण्डीमा उपचारका लागि भर्ना भएका छन्। उनको दोस्रोपटक डायलासिस गरिएको छ। तर प्रधानमन्त्री कार्यालय र निजी सचिवालयले भने प्रधानमन्त्रीको डायलासिसबारे खुलाएको छैन।

बिहीबार नै प्रधानमन्त्रीलाई भेट्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल पनि ग्राण्डी पुगेका थिए। तर उनीहरूले प्रधानमन्त्रीलाई भेट्न भने पाएनन्।

प्रधानमन्त्रीको दोस्रो डायलासिस जारी

प्रधानमन्त्री केपी शर्मा ओलीको ग्राण्डी अस्पतालमा दोस्रो डायलासिस जारी छ।

उनलाई आइसियूमा राखेर डायलासिस गरिएको अस्पताल स्रोतले बतायो।

प्रधानमन्त्रीको डायलासिस जारी रहेकाले आफूले नभेटी फर्किएको नेकपा नेता भीम रावलले सेतोपाटीलाई बताए। उनी बिहीबार दिउँसो सवा १ बजे अस्पताल पुगेका थिए।

‘प्रधानमन्त्रीलाई डायलासिस गरेकाले मैले भेट्न मिलेन।अहिले केही समयपछि आउँछु भनेर अस्पतालबाट फर्किएँ,’ रावलले भने,’सबै चिकित्सकहरू व्यस्त रहेकाले मैले उहाँहरूसँग पनि बुझ्न पाइनँ।’

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि आजै प्रधानमन्त्री भेट्न ग्रान्डी पुगेका थिए। तर डायलासिस भइरहेकाले उनले पनि प्रधानमन्त्रीसँग भेट्न पाएनन्।

‘म अस्पताल पुगेको थिएँ। तर प्रधानमन्त्रीसँग भेट हुन पाएन। अस्पतालका निर्देशक चक्रराज पाण्डेजीसँग कुरा भयो। उहाँले प्रधानमन्त्रीको स्वास्थ्य राम्रो छ भन्नुभयो,’ श्रेष्ठले सेतोपाटीसँग भने। 

प्रधानमन्त्रीको डायलासिस चलिरहेकाले आज पनि प्रधानमन्त्री ग्राण्डीमै रहने सम्भावना बढेको अस्पताल स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीको बुधबार पनि डायलासिस गरिएको थियो।

स्रोतका अनुसार उनको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो। पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको पनि स्रोतले बतायो।

शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ।

स्वस्थ मिर्गौलाले रगतमा रहेका हानिकारक तत्व छान्ने काम गर्छ। बिरामी मिर्गौलाले छान्ने काम गर्न सक्दैन। त्यसैले पानी वा रगत हालेर डायलासिस मार्फत् रगतको विकार सफा गरिन्छ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौलाले काम गर्न छाडेपछि नयाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यो मिर्गौला पनि अहिले कमजोर भएर समस्या हुने गरेको छ।

रगतमा ‘एन्टिबडी’ को मात्रा बढेर समस्या भएपछि उनले गत भदौमा सिंगापुर गएर ‘प्लाज्माफेरेसिस’ गरेका थिए। रगतमा रहेको प्लाज्माले ‘एन्टिबडी’ बोक्ने काम गर्छ। प्लाज्माफेरेसिस मार्फत ‘एन्टिबडी’ भएको प्लाज्मा छानेर निकालिन्छ।

सिंगापुरमा गरिएको प्लाज्माफेरेसिस कति प्रभावकारी हुन्छ यकिन हुन केही समय लाग्ने चिकित्सकहरूले बताएका थिए। अहिले रगतमा फेरि क्रेटिनिन, युरिया र पोटासियम बढ्नुको अर्थ प्लाज्माफेरेसिस धेरै प्रभावकारी नभएको संकेतका रुपमा बुझ्नुपर्ने एक मिर्गौला विशेषज्ञले बताए।

केही गरी अहिलेको मिर्गौलाले काम गर्न नसक्ने भए फेरि मिर्गौला प्रत्यारोपण गर्ने विकल्प प्रधानमन्त्री ओलीसँग बाँकी नै छ। दुई वा दुईभन्दा बढी पटक मिर्गौला प्रत्यारोपण गरेर पनि मानिस स्वस्थ रहन र सक्रिय रूपमा काम गर्न सक्छन्।

ग्राण्डी अस्पतालमा अहिले भइरहेको उपचार अस्पताल र प्रधानमन्त्री कार्यालय दुवैले गोप्य राखेका छन्। उपचारका लागि बुधबार बिहान प्रधानमन्त्री अस्पताल पुग्दा प्रधानमन्त्री कार्यालयले उनी नियमित स्वास्थ्य परीक्षणका लागि गएको र केही छिनमा फर्किने बताएको थियो।

ग्राण्डी अस्पतालमा पनि प्रधानमन्त्रीको उपचार अति गोप्य राखिएको अस्पताल स्रोतले बतायो। प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका रिपोर्ट पनि अति गोप्य राखिएको छ। सीमित डाक्टरहरूको टोलीले मात्र यी रिपोर्ट हेर्न पाएको छ।

‘ल्याबमा टेस्ट गर्दा पनि रिपोर्टहरू अति गोप्य राखिएका छन्,’ स्रोतले भन्यो।

यो पनि पढ्नुस्ः के हो प्लाज्माफेरेसिस?

प्लाज्माफेरेसिस भनेको रगतमा रहेको प्लाज्मा छानेर हटाउने प्रकृया हो। रगतमा रहेको पारदर्शी वस्तु हो प्लाज्मा। यसले रेड सेल, ह्वाइट सेल, प्लेटलेट्स र ब्याक्टेरिया, भाइरससँग लड्ने ‘एन्टिबडी’ बोक्ने गर्छ।

प्रधानमन्त्री ओलीको दुवै मिर्गौला बिग्रिएर १२ वर्षअघि मिर्गौला फेरिएको हो। शरीरमा अर्को मानिसको मिर्गौला आएपछि बाह्य वस्तुसँग लड्ने ‘एन्टिबडी’ले सो मिर्गौलालाई पनि कुनै हानिकारक वस्तु शरीरमा आएको ठान्छ। त्यसपछि मिर्गौलालाई मार्न आक्रमण गर्न थाल्छ।

मिर्गौलालाई धेरै हानी नपुगोस् भनेर डाक्टरहरूले औषधिमार्फत् एन्टिबडीलाई कमजोर बनाएर राख्छन्। तर एन्टिबडीलाई पूरै कमजोर पार्न पनि सकिन्न।

किनभने शरीरमा प्रवेश गर्ने अरु भाइरस, ब्याक्टेरिया लगायतका हानिकारक तत्वसँग लड्ने पनि एन्टिबडीले नै हो। प्लाज्माफेरेसिसबाट रगतको प्लाज्मालाई छानेर निकालिन्छ। प्लाज्माले नै एन्टिबडी बोक्ने हुनाले यो एन्टिबडी पनि प्लाज्मासँगै बाहिर जान्छ। प्लाज्माफेरेसिस प्रभावकारी नभए फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ।

तपाईको प्रतिक्रिया