पूर्वी नेपालका कवि सुन्दर कुरुपको कविता स‌ंग्रह ‘पृथ्वीको आविष्कार’ राजधानीको अनामनगरस्थित मण्डला थियटरमा शनिबार सार्वजनिक भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको प्रमुख आतिथ्यमा कविता स‌ंग्रह सार्वजनिक भएको हो। विमोचन कार्यक्रममा बोल्दै प्राज्ञ काइँलाले कवि सुन्दरको कवितामा आक्रोश र गाली नभएर नेपाली परिवेशका विभिन्न राजनीतिक र सामाजिक उतारचढावहरुको मार्मिक प्रस्तुति रहेको बताए।

सृजनशील अराजकताका अभियन्ता कवि हाङ्युग अज्ञातले पृथ्वीमा रहेका प्रत्येक व्यक्तिको आआफ्नै छुट्टै पृथ्वी हुने कुरालाई कविले कवितामार्फत प्रस्तुत गर्न खोजेको बताए। नेपाली कविहरुले विज्ञानसम्मत कुराहरु लेख्नुपर्ने र त्यसमा मौलिकता पनि जोडेर लैजानुपर्ने कुरामा उनले जाेड दिए।

अज्ञातले नेपाली मिडियाको वैचारिक धारसँग मिल्ने बाहेकका कविताहरु प्रकाशित गर्न अझै पनि गाह्रो अवस्था रहेकाे सन्दर्भ पनि काेट्याए। यस सन्दर्भमा मिडियामा अप्रकाशित कवि सुन्दरका कविता संग्रह प्रकाशित हुनुलाई सकारात्मक पहलका रुपमा अर्थ्याए।

युवा राजनीतिज्ञ मानुषी यमी भट्टराईले कवि सुन्दरका कविताहरु राजनीतिज्ञहरुले पढ्न आवश्यक रहेको बताइन्। उनले सुन्दरका कविताहरुले सांस्कृतिक अभियान र आन्दोलनहरुमा टेवा पुर्याउने मत राखिन्।

आफ्नाे संग्रहबारे बोल्दै कवि सुन्दरले भने, ‘नेपाली ग्रामीण परिवेश नै मेरा कविताहरुकाे स्राेत हाे।’

‘पृथ्वीको आविष्कार’ साङ्ग्रीला बुक्सले प्रकाशित गरेकाे हाे।

तपाईको प्रतिक्रिया