सरकारले नारायणहिटी संग्रहालयमा ‘डिनर र टुर’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘भिजिट नेपाल २०२०’का लागि भन्दै नारायणहिटी दरबारमा रहेको लमजुङ हलमा डिनरसहितको रात्रिकालीन टुर प्याकेज चलाउने योजना बनाएको हो।

साँझ पाँच बजेपछि सर्वसाधारणका लागि बन्द हुने नारायणहिटीमा ६ बजेदेखि ९ बजेसम्म पर्यटकलाई मनोरञ्जनसहित घुम्ने गन्तव्यका रुपमा विकास गर्ने योजना बनाउन छलफल अघि बढाइएको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सेतोपाटीलाई जानकारी दिए।

‘हाम्रो संस्कृति पनि देखाउन सकिने र आम्दानी पनि गर्न सकिन्छ कि भनेर हामीले छलफल गरिरहेका छौं। तर केही विस्तृत काम भएको छैन। कागजी काम पनि थालिएको छैन। २०२०, जनवरीदेखि सञ्चालनमा ल्याउन सकिन्छ कि भनेर लागिरहेका छौं,’ अधिकारीले भने।

‍उनकाअनुसार नारायणहिटीको यो लमजुङ हलमा राजाहरूले रात्रिकालीन भोज दिन्थे। मन्त्रालयको योजनाअनुसार उक्त हलमा रेस्टुरेन्ट हुनेछ। रेस्टुरेन्ट सरकारकै स्वामित्वमा रहने तर त्यसमा डिनर (खानेकुरा) आपूर्ति निजी क्षेत्रबाट हुनेछ।

दिनभर काठमाडौंमा घुमिसकेपछि पर्यटकलाई राति नारायणहिटी घुमाउने र त्यहाँ घुमाउँदै कथा पनि सुनाउनेगरी प्याकेज बनाउने योजना भइरहेको अधिकारीले जानकारी दिए।

मन्त्रालयको अहिलेसम्मको तयारीअनुसार नारायणहिटीमा एउटा प्याकेज बन्नेछ। यो प्याकेट पर्यटकलाई ट्राभल कम्पनीहरूले पनि बेच्न सक्नेछन्। यसमा सामान्य रिसेप्सन, सांस्कृतिक प्रदर्शन, खाना, राजतन्त्रकालीन इतिहास वर्णन र गणतन्त्र स्मारकको परिचयसम्म पाउने छन्।

‘साँझ ६ बजे उक्त प्याकेज खुला हुनेछ। त्यो प्याकेजको न्यूनतम मूल्य हुन्छ जुन तिरेपछिमात्र पर्यटकले प्रवेश पाउने छन्। त्यहाँ जानेबित्तिकै उनीहरूका लागि लाइभ म्युजिक (सांस्कृतिक प्रदर्शनी)सहित रिसेप्सन हुनेछ। त्यसपछि उनीहरूले संग्रहालय हेर्नेछन्। डिनर रुम(लमजुङ हल)मा जानेछन्। त्यहाँबाट उनीहरूलाई गणतन्त्र स्मारकसम्म लग्छौं,’ सचिव अधिकारीले योजना सुनाए। 

डिनरका खानेकुरा निश्चित हुनेछ। नेपाली परम्परागत परिकार पनि समावेश गरिनेछ। डिनर र टुर प्याकेजको मूल्य नतोकिएको भए पनि एकजनाको कम्तीमा एक सय डलर (करिब ११ हजार पाँच सय रूपैयाँ)सम्म हुनसक्ने उनले बताए।

यो सेवा असीमित संख्याका लागि पनि उपलब्ध हुनेछैन। एकदिनमा एकसय जनालाई मात्र सेवा दिन सकिने अधिकारीको भनाइ छ।

नेपालमा रात्रिकालीन पर्यटन पनि सुरक्षित छ भन्ने सन्देश दिन पनि यो उदाहरण हुने विश्वास मन्त्रालयको छ।

‘दिउँसो घुम्ने अन्य गन्तव्य छन्। हामीकहाँ बेलुकी घुम्ने खास ठाउँ छैन। यसैले यो योजना बनाएका हौं। यसमा सार्वजनिक प्रतिक्रिया कस्तो आउँछ, त्यसपछि हामी अघि बढ्छौं,’ सचिव अधिकारीले भने। यसनिम्ति पर्यटन क्षेत्रका सरोकारवालाहरूसँग छलफल जारी राखिएको उनले बताए।

राजाले चढेका गाडी पनि प्रदर्शनीमा राखिनेः

सरकारले ल्याउने यो प्याकेजमा नारायणहिटीदेखि गणतन्त्र स्मारकसम्मको टुर छ। तर अहिले दरबारबाट स्मारकसम्म जाने बाटो बन्द छ। बीचमा नेपाली सेनाको ब्यारेक पर्छ जसले दरबार र स्मारको सिधा सञ्जाल तोडेको छ।

बाटो नखुलेसम्मका लागि दरबारबाट स्मारकसम्म गाडीबाट लैजाने सरकारी योजना छ। बाटो खोल्न रक्षा मन्त्रालयसँग छलफल गरिने अधिकारीले बताए।

यो बाटो खुलेपछि राजाले चढ्ने गरेका गाडीहरू पनि प्रदर्शनीमा हुनेछन्। गाडी भएको क्षेत्रमा सानो संग्रहालय बनाउन सकिने सरकारी योजना छ।

तपाईको प्रतिक्रिया