दक्षिण अफ्रिका, पूर्वी तटमाको क्वाजुलु नाटल प्रान्त क्षेत्रमा पहिलोपटक प्लास्टिक सडक निर्माण भएको छ। दूधका बोतलहरू ‘रिसाइकल’ गरेर यहाँको सडक कालोपत्रे गरिएको हो।

सिसलंगा कन्स्ट्रकसनले देशको फोहोर केही हदसम्म व्यवस्थित गर्ने र सडक गुणस्तर पनि सुधार्ने आशाले यो काम गरेको सिएनएनले लेखेको छ।

डर्बानको बाहिरी क्षेत्र क्लिफानमा ४०० मिटर बाटो कालोपत्रे गर्न ४० हजार वटा बोतल रिसाइकल गरिएको छ। ७० प्रतिशतभन्दा बढी प्लास्टिक ल्यान्डफिलबाटै संकलन गरिएको हो। यी बोतल दुई लिटरका हुन् र अरू प्लास्टिकभन्दा बाक्लो हुन्छ। सामान्य प्लास्टिक १७० डिग्रीमा पग्लिन्छ भने यस्ता बाक्लाका लागि १९० डिग्रीसम्म तापक्रम चाहिन्छ।

निर्माण कम्पनीका अनुसार अरु साधारण सडक बनाउँदाकै जति खर्च हुने भए पनि दीर्घकालमा प्लास्टिक सडक सस्तो पर्न जान्छ। उनीहरूका अनुसार राम्ररी बनाइएको प्लास्टिक सडक २० वर्षभन्दा बढी टिकाउ हुन्छ। 

दक्षिण अफ्रिकामा यसपालि पहिलोपटक प्लास्टिक सडक बने पनि यसको सुरूआत सन् २००२ मै भारतमा भएको थियो। मधुराईको थियागराजर कलेज अफ इन्जिनियरिङका प्राध्यापक राजगोपाल वासुदेवले प्लास्टिक सडक निर्माण कार्य सुरू गरेका थिए। उनले प्लास्टिकका खोल, बोतल र झोला संकलन गरी सडक निर्माणमा प्रयोग गर्दै आएका छन्। हाल भारतमा यही प्रक्रियाबाट ११ प्रदेशमा एक लाख किमीभन्दा बढी सडक बनिसकेको छ। 

तपाईको प्रतिक्रिया