काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १३ वर्षदेखि अलपत्र परेको त्रियुगा नदीमाथिको पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

उहाँले आज सडक विभागको पुल महाशाखा र निर्माण व्यवसायीलाई पुल निर्माण चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको हो । निर्माण कम्पनीले सम्पन्न गरेर हस्तान्तरण नहुँदै भत्किएको सो पुल भत्किएको दुई वर्षसम्म अलपत्र भएपछि उदयपुरबाट प्रतिनिधित्व गर्ने सांसद, स्थानीय जनप्रतिनिधि ध्यानाकर्षणका लागि आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेका थिए । मन्त्री ज्वालाले निर्माण व्यवसायीलाई पनि मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको छ ।

त्रियुगाको पुल एक वर्षभित्र सक्नेमा ढुक्क रहन मन्त्री ज्वालाले सरोकारवालालाई आग्रह गर्नुभयो । निर्माण सुरु भएको १२ वर्षसम्म नागरिकले पुलमा हिड्न नपाउनु दुर्भाग्य भएको उहाँको भनाइ छ । मन्त्रालय, स्थानीय जनप्रतिनिधि र निर्माण व्यवसायीको संयुक्त प्रयासमा यो पुलको निर्माण एक वर्षभित्र सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसअघि कमला र जब्दीघाटको पुलबाटै पुराना ठेक्कामा एक्सन लिन थालिएको छ, यसमा पनि त्यही गरिनेछ ।”

मन्त्रालयका कार्यवाहक सचिव अर्जुन थापाले ‘क्रोनिक’ ठेक्काका रुपमा रहेका पुल समस्या समाधान गरेर बनाउन लागिएको बताउनुभयो । हाल देशभर साढे चार हजार पुलको निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्रियुगा, कमला र जब्दीघाट तीन पुलमा बढी समस्यामा थिए, त्यसको हल पनि हामीले प्राविधिक रुपमा खोजी सकेका छौँ ।”

उदयपुरको चौदण्डीगढीको शिवाई र बेल्ही जोड्ने त्रियुगा पुल वर्षौँदेखि अलपत्र छ । अलपत्र पुलका विषयमा छलफल गर्न उदयपुरका सांसद तथा पूर्वमन्त्री नारायण खड्कासहितको टोली मन्त्रालय पुगेको थियो । सांसदसहितको टोलीलाई मन्त्री, कार्यवाहक सचिव अर्जुन थापा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकालसहितको छलफलमा निर्माण कम्पनीले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ ।

तीन वर्षभित्र काम सक्ने गरी महालक्ष्मी लोकप्रिय निर्माण कम्पनीले विसं २०६७ मा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र सक्ने लक्ष्य लिएको पुल ११ वर्षपछि निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएर हस्तान्तरण नगरिँदै विसं २०७८ मा पुलका तीन स्पान र दुई पिलर भत्केको थियो ।

तपाईको प्रतिक्रिया