चालु वर्षको पहिलो ३ महिनामा नेपाली एयरलाइन्सहरूले पाँच अर्ब बढी रुपैयाँका जहाज तथा हेलिकप्टर खरिद गरेका छन्। भन्सार विभागको तथ्यांकअनुसार चालु वर्षको साउन,भदौ र असोजमा मात्र सो मूल्य बराबरका जहाज, हेलिकप्टर र पाटपुर्जा नेपाल भित्रिएका हुन्।

आन्तरिक बजारमा भएको विस्तारसँगै एयरलाइन्स सञ्चालकहरुले पछिल्लो समय जहाज तथा हेलिकप्टर थप गर्दै गएका छन्।

देशको आन्तरिक हवाई बजारका ठूला एयरालाइन्सले यो बीचमा जहाज थप गरेका छन्। उनीहरुले २ अर्ब ७१ करोड मूल्यका जहाज नेपाल ल्याएका छन्। त्यस्तै जहाजमा प्रयोग हुने पाटपुर्जामामात्र यो बीचमा ५६ करोड रुपैयाँ बराबरका आयात भएका छन्।

पछिल्लो समय हवाई बजार विस्तार हुँदै जाँदा एयरलाइन्सहरुले जहाज थप गर्ने क्रम बढेको छ। गएको तीन महिनामा मात्र यति एयरलाइन्स र बुद्ध एयरले १/१ वटा जहाज ल्याएका छन्। उनीहरुले एटिआरका ७२ सिटे जहाज ल्याएका हुन्।

त्यस्तै आन्तरिक बजारको अर्को ठूलो अपरेटर श्री एयरलाइन्सले पनि २ ओटा बम्बार्डियरका टर्बोजेट जहाज ल्याएको छ।

जहाजसँगै हेलिकप्टर पनि करिब २ अर्बका भित्रिएका छन्। तथ्यांकअनुसार गएको तीन महिनामा १ अर्ब ८४ करोड मूल्यका आएका छन्। उद्धार र साइटसिनका लागि प्रयोग हुँदै आएको हेलिकप्टरको माग पर्वतीय पर्यटनमा बढ्दै गएको छ।

अपरेटरहरु थपिंदै जाँदा पनि थप हुँदै गएका छन्।

यसमा हालैमात्र नेपाली सेनाले खरिद गरेको हेलिकप्टर र कार्गो जहाजको तथ्यांक भने सामेल छैन। आर्मीले साढे चार अर्ब बढीका जहाज खरिद गरेको छ।

तपाईको प्रतिक्रिया