धनुषा – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शासकवर्गले आफ्नो वर्चस्व कायम राख्ने गरी ल्याएको सङ्घीयताले शोषित पीडितवर्गको उत्थान सम्भव नरहेको बताउनुभएको छ ।

पार्टीले आजदेखि शुरु गरेको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको जनकपुरमा शुभारम्भ गर्दै अध्यक्ष यादवले संविधानको संशोधन नभएसम्म मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम र महिलाले स्वतन्त्राको अनुभूति गर्न नसक्ने बताउनुभयो । उहाँले त्यसका लागि पुनः सङ्घर्षको आवश्यकता रहेकाले पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरणमा जुटेको बताउनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, “मधेश आन्दोलनले अधिकारसम्पन्न सङ्घीयता, पहिचानमा आधारित राज्य र साधनस्रोतसम्पन्न प्रदेश मागेको थियो तर अहिलेको सङ्घीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन । अबको तीन महिना पार्टीलाई दिन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उहाँले अभियानमा नजुट्ने नेता तथा कार्यकर्ताहरुको पार्टीले त्यहीअनुरुप मूल्याङ्कन गर्ने भन्दै सचेतसमेत गराउनुभयो ।

पार्टीका केन्द्रीय उपाध्यक्ष रेणु यादवले मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म समाजवादको परिकल्पना गर्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले पार्टीभित्र रहेको गुट- उपगुटलाई अन्त गर्दै पार्टीको महाअभियान सङ्गठन विस्तार तथा सुदृढीकरणमा जुट्न निर्देशन दिनुभयो ।

पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले पार्टीको सम्पूर्ण सङ्गठनलाई टोलटोलसम्म विस्तार गरेमात्र समुन्नत सङ्घीय समाजवादको परिकल्पनालाई साकार गर्न सकिने उल्लेख गर्नुभयो । सङ्घीयता विरोधीहरु विभिन्न बहानामा सङ्घीयता समाप्त गर्ने षडयन्त्र गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले नेता कार्यकर्ताहरुलाई सङ्गठित र अनुशासित हुँदै सङ्घर्षको तयारीमा जुट्नुपर्ने बताउनुभयो ।

मधेश प्रदेश समितिका अध्यक्ष विजयकुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका महासचिव रामसहाय यादवले अभियानको उद्देश्य र प्रक्रियाबारे जानकारी गराउनु भएको थियो भने उपमहासचिव प्रकाश अधिकारीले विषय प्रवेश गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया