झापा – अर्जुनधारा नगरपालिका–९ निवासी एक युवाको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन खोज्दा २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो ।

उहाँका अनुसार ममतालाई करेन्ट लागेपछि बचाउन खोज्दा उहाँलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते हुनुभएका दुवैलाई उपचारका लागि शनिश्चरेस्थित शङ्कर अस्पताल लैजाँदै गर्दा अमृतको बाटैमा मृत्यु भएको उहाँको भनाइ छ ।

ममताको अवस्था मध्यम रहेको र हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । अमृतको शवलाई कानूनी प्रक्रिया पूरा गरीे शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । इलाम नगरपालिका–२ स्थायी घर भएका रेग्मी परिवार केही समयदेखि अस्थायीरूपमा अर्जुनधारा–९ कटहरडाँडामा बसोबास गर्दै आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया