काठमाडौं – नेकपाले विगतमा आफूले जितेका स्थानमा उपनिर्वाचन ‘जसरी पनि’ जित्ने रणनीति लिएको छ। यहीअनुसार निर्वाचन रणनीति बनाई परिचालन हुन नेकपाले पार्टी पंक्तिलाई निर्देश गरेको छ। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरी २ कात्तिकमा विशेष परिपत्र–५ पठाएका थिए।

‘हिजो विजयी बनेका स्थानहरूमा पार्टीलाई पुनः विजयी बनाउने र नयाँ ठाउँहरूमा पनि पार्टीको जित सुनिश्चित गर्दै पार्टीप्रतिको बढ्दो जनआकर्षणलाई पुष्टि गर्ने चुनौतीपूर्ण जिम्मेवारी आएको छ’, परिपत्रमा भनिएको छ, ‘हामीले यो चुनौतीको सामना गर्नै पर्छ। तदनुरुप उपनिर्वाचनको तयारीमा जुट्न र समर्थक शुभेच्छुकहरूलाई समेत परिचालित गर्न सम्बन्धित पार्टी कमिटी, कार्यकर्ता, जनप्रतिनिधि र सदस्यहरूलाई निर्देशित गरिएको छ।’

उपनिर्वाचन हुन लागेका अधिकांश रिक्त स्थानमा यसअघि नेकपाले जितेको थियो। प्रतिनिधिसभाको १, प्रदेशसभाका तीनमध्ये २, उपमहानगरपालिकाको मेयर १, गाउँपालिका अध्यक्ष तीनमध्ये १ स्थान गरी ५२ सिटमा २८ वटामा नेकपाले जितेको थियो। तत्कालीन एमालेले २६ र माओवादीले २ स्थानमा जितेका ठाउँमा उपनिर्वाचन हुँदै छ। गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १ सहित १४ स्थानमा विगतमा कांग्रेसले जितेको स्थानमा पनि उपनिर्वाचन हुन लागेको हो। राष्ट्रिय जनमोर्चाको १ प्रदेशसभासहित २, राजपाको १ गाउँपालिका अध्यक्षसहित ४ र समाजवादीको २ वडाध्यक्षले जितेका ठाउँमा पद रिक्त छ। स्वतन्त्रले जितेका दुई वडाध्यक्ष पद पनि रिक्त छन्।

३९ देखि ४३ स्थानमा आफ्नो पार्टीले जित निकाल्ने दाबी नेकपा महासचिव विष्णु पौडेलले गरे। ‘पहिले जितेका सबै स्थानमा हामी सजिलै जित्छौं’, महासचिव पौडेलले भने, ‘घटीमा ३९ र बढीमा ४३ जित्ने आकलनअनुसार परिचालनको नीति बनाएका छौं।’

राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका र कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष पनि नेकपाले जित्ने जिकिर उनले गरे। ‘प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, उपमहानगरपालिकाको मेयर र तीनै गाउँपालिका अध्यक्षसम्म सबै स्थानमा हामी सहज जित निकाल्छौं’, उनले भने, ‘अन्य पार्टीले जित्न सक्ने सीमित स्थान भनेको वडातिर मात्र हुन्छ होला।’

नेकपाले बागलुङ क्षेत्र नम्बर २ (ख) र बागलुङकै बढिगाड गाउँपालिका–२ को वडाध्यक्षमा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई सहयोग गर्ने भएको छ। अन्य स्थानमा जनमोर्चाले नेकपा उम्मेदवारलाई सहयोग गर्ने गरी तालमेल भएको छ। बागलुङको प्रदेशसभा र एउटा वडा छाडेकोमा स्थानीय नेता तथा कार्यकर्तामा असन्तुष्टि देखिएको छ। बागलुङको प्रदेशसभा सदस्यमा नेकपाका शेरमान घर्ती मगरले बागी उम्मेदवारी दिएका छन्।

नेकपाका जिल्ला अध्यक्ष, जिल्ला इन्चार्ज र त्यहाँका प्रतिनिधिसभा सांसदले अध्यक्ष दाहाललाई भेटी जनमोर्चाका उम्मेदवारलाई नछाड्न लबिङ गरेका थिए। बागी उम्मेदवारीका विषयमा अध्ययन गरेर उम्मेदवारी फिर्तासम्ममा मिलाइने महासचिव पौडेलले बताए। ‘बागी उम्मेदवार परेको रहेछ भने पनि असन्तुष्टि अध्ययन गरेर उम्मेदवारी फिर्ताको समयसम्ममा हामी सबै मिलाउँछौं’, उनले भने।

कास्कीमा गत निर्वाचनमै फराकिलो अन्तरले जित निकालेकाले यसपटक सहज रहेको, प्रदेशसभातर्फको दाङ र भक्तपुरमा पनि जित्नेमा नेकपा विश्वस्त देखिएको छ।-अन्नपूर्ण पोष्ट
 

तपाईको प्रतिक्रिया