थारू समुदायमा विशेष रुचाइने खाना हो, घुँगी । थारू समुदायको मौलिक खाना मानिने घुँगी र सिपुही अब थारू समुदायमा मात्र सीमित रहेन, घुँगी अहिले अन्य समुदायमा पनि लोकप्रिय हुन थालेको छ । घुँगीको लोकप्रियता बढेसँगै पछिल्लो समय पश्चिम नवलपरासीमा यसको माग बढ्न थालेको छ । माघीलगायतका विभिन्न पर्वहरुमा लाग्ने मेला महोत्सवमा घुँगीको स्टल नै राखेर प्रचारप्रसार तथा परिकार बिक्री वितरण गर्न थालिएपछि व्यावसायिकरूपमा यसको माग बढेको हो ।

जिल्लामा विभिन्न स्थानमा थारू समुदायले सञ्चालन गरेका होटलमा घुँगी विशेष आकर्षणको रूपमा रहन थालेको छ । घुंँगीको माग बढ्दै गएको तर व्यावसायिक उत्पादन कम रहेकाले माग पूरा गर्न हम्मेहम्मे परिरहेको व्यवसायीको भनाइ छ । गाउँघरमा हुने धान खेत, दलदले हिलो, पोखरी, कुलो तथा सीमसार क्षेत्रमा पाइने एक प्रकारको शङ्खे कीराजस्तै हुने घुँगी र सिपुहीलाई माछासँगै व्यावसायिकरूपमा पालन गर्न सके मनग्य आम्दानी गर्न सकिने रामग्राम–१२ कशियास्थित थारू कटेजका सञ्चालक आशिष चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय घुँगी खान रुचाउनेमा थारू मात्र छैनन्, अन्य समुदायले समेत यो रुचाउन थालेका छन्, माग धेरै भएकाले ‘सिजन’बाहेक अन्य समयमा भारतीय बजारबाट मगाएर व्यावसाय सञ्चालन गर्नुपरेको छ ।” यहाँ तयारी घुँगी प्रतिप्लेट रु १३० मा बिक्री हुने गरेको छ । नेपालमै घुँगीको व्यावसायिक उत्पादन हुन सके यसको व्यापार फस्टाउने उहाँको भनाइ छ । कम लगानीमा लाखौँको व्यापार गर्न सकिने भएकाले माछापालनसँगै घुँगीपालन गर्न सके विदेश पलायनका साथै भारत जाने लाखौँ रकम पनि रोक्न सकिने रामग्राम–१२ कै दयानन्द चौधरी बताउनुहुन्छ । बुटवललगायत जिल्ला बाहिरबाट पनि घुँगीको माग आउन थालेको तर पूर्ति गर्न नसकिएको रामग्राम–५का मीनबहादुर सिंह (थारू)ले बताउनुभयो ।

घुंँगी खानाले प्रचुरमात्रामा क्याल्सियम प्राप्त हुनुका साथै हड्डीको समस्या पनि ठिक हुने विश्वास गरिन्छ । शरीर दुखेको, मर्केको, भाँचिएको समेत ठिक हुने थारूको भनाइ छ । उहाँले भन्नुभयो, “मैले ढाड दुख्दा, हातखुट्टा मर्किँदा घुँगी नै खाएर ठिक पार्ने गरेको छु ।” घुंँगी र सिपुही प्राकृतिकरूपमै पाइने एक प्रकारको जीव भए पनि यो विस्तारै तराईमा लोप हुँदै गएको छ । खेतबारीमा किसानले विभिन्न प्रकारका रासायनिक मल र झार मार्ने औषधिहरु खेतमा हाल्ने गर्दा घुँगी सङ्कटमा परेको छ । सरावल गाउँपालिका–६ गडौरीका चाँदमणि चौधरीले पोखरी नै बनाएर माछासँगै घुँगी र सिपुहीपालन गर्नुभएको छ । असार÷साउन महिनामा खेतमा पाइने स–साना घुंँगी ल्याएर पोखरीमा हाल्दा माछासँगै माछाको दाना खाएर घुँगी पनि हुर्कने हुँदा कम लगानीमा धेरै उत्पादन हुने थारूले बताउनुभयो । “असार महिनामा पालेको घुंँगी असोजबाट खानयोग्य हुन्छ र पुस महिनासम्ममा सबैभन्दा ठूलो हुने भएकाले राम्रो आम्दानी हुन्छ”, उहाँले भन्नुभयो ।

रामग्राम नगरपालिका–१८ आशा चौधरीका अनुसार घुँगीको परिकार बनाउन विशेष जानकार नै हुनुपर्छ । उहाँका अनुसार घुंँगीलाई सर्वप्रथम सफा पानीमा करीब २० देखि २४ घण्टासम्म भिजाएर पिठो खुवाउनुपर्छ, पानीमा राखेको पिठो खुवाएपछि घुँगीले खाएको माटो शरीरबाट बाहिर निकाल्न थाल्छ, शरीरको माटो सफा भएर निस्केपछि घुँगीको चुच्चोतिरबाट फुटाउनुपर्छ । त्यसपछि सफा गरेर पकाउनुपर्छ । आवश्यक मात्रामा मसला, अदुवा, लसुन, नुन र खुर्सानीसमेतको घोलमा दुई घण्टासम्म फलामे कराई वा भड्डुुमा पकाएर घुँगीलाई खानयोग्य बनाइन्छ । यसरी तयार पारेको घुँगीलाई चुसेर त्यसभित्र रहेको प्रोटिनयुक्त मासुलाई तानेर खाने गरिन्छ ।

तपाईको प्रतिक्रिया