ललितपुर – वातावरणका विषयमा आधारित कार्यक्रम प्रसारण गर्ने अभिप्रायले पर्यावरण टेलिभिजन शुरु गरिएको छ । गोदावरी नगरपालिका–१४ बाँडेगाउँमा २०६० सालदेखि सञ्चालनमा आएको ‘रेडियो पर्यावरण १०४.२ मेगाहर्ज’ को १६आँै स्थापना दिवसको अवसरमा आजबाट उक्त टेलिभिजनको प्रसारण थालिएको हो ।

कार्यक्रमको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सो टेलिभिजन स्थापनाले मुलुकको पर्यावरण सुन्तुलित राख्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो,“मुलुकको वातावरण प्रवद्र्धन र संरक्षणमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको छ ।” नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजमा पर्यावरण मैत्री विकासको अवधारणा ल्याउन जरुरी भएको विचार राख्नुभयो ।

राजनीतिक परिवर्तनमार्फत मुलुकमा आवश्यक विकास गर्न आफूहरु अघि बढेको श्रेष्ठले बताउनुभयो । नगरपालिका प्रमुख गजेन्द्र महर्जनले गोदावरीमा उक्त टेलिभिजनको स्थापनाबाट नगरपालिकाको थप पहिचान अघि बढाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

शताब्दी पुरुष सत्यमोहन जोशीले ‘नेशनल जोग्राफी’ को चर्चा गर्दै यस्तै कार्यक्रम पर्यावरण टेलिभिजनले दिन सके वातावरण सन्तुलन कायम गर्न उपयोगी हुने धारणा राख्नुभयो । रासस

तपाईको प्रतिक्रिया