काठमाडौं – अर्थमन्त्री डा।युवराज खतिवडाले सानासाना पूँजी र क्षेत्रमा रहेर व्यापार गर्दै आएका खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव दिएका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घको ४०औँ वार्षिक साधारणसभामा उनले सबै खुद्रा व्यापारी एक भएर सहकारी ढाँचामा व्यवसाय गर्न आग्रह गरे ।‘अब खुद्रा व्यापारी पनि सङ्गठित हुनुपर्छ, सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ’, उनले भने, ‘सहकारी ‘मोडल’मा गएपछि ठूला खुद्रा बिक्रेतासँग प्रतिस्पर्धा गर्न पनि सहज हुन्छ ।’ खुद्रा व्यापारमा नेपाली पूँजीको प्रवद्र्धन गर्न यस क्षेत्रमा विदेशी लगानीमा रोक लगाइएको स्पष्ट पार्दै अर्थमन्त्रीले स्वदेशी ठूला व्यापारीसँग प्रतिस्पर्धा गर्न खुद्रा व्यापारी पनि सङ्गठित भएर लाग्नुपर्ने बताए । खुद्रा व्यापारमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले व्यापारिक सीमा र मर्यादाभित्र रहेर कारोवार गर्न आग्रह गरे ।

सानालाई ऐन र ठुलालाई चैन भन्ने उखानको सवालमा ऐन सबैकालागि ऐन नै रहने र सरकारले ऐन कसैका लागि पनि चैन बन्न नदिने अर्थमन्त्री खतिवडाले दावा गरे ।

मन्त्री खतिवडाले कार्यक्रममा खुद्रा व्यापारमा विदेशी लगानीलाई निषेध गरिएको र यो व्यवसायमा देश कै नागरिकहरुलाई स्थान दिइएको जानकारी पनि दिए ।

खुद्रा व्यापारीहरू सहकारी मोडलमा संगठित हुन सके ठुला व्यापारीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने भएकोले सबै खुद्रा व्यापारीहरुलाई एकत्रित हुन अर्थमन्त्री खतिवडाले सुझाएका छन् ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले खुद्रा व्यवसायीलाई व्यापारमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले सरकारले ल्याएको ऐन, नियम, कानूनका बारेमा पर्याप्त जानकारी नराख्दा व्यापारीले अनावश्यक झमेला खेप्नु परेको उल्लेख गर्दै अब उप्रान्त सामान खरीदबिक्री गर्दा अनिवार्यरुपमा बिलबिजक जारी गर्न आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले खुद्रा व्यापारीलाई सङ्गठित भएर व्यापार व्यवसायमा लाग्न आग्रह गरे । भूलवश हुने गल्तीको पनि व्यापारीले ठूलो सजाय भोग्नु परेको उदाहरण दिँदै उनले चर्को जरिवाना र कैदको व्यवस्थाले व्यापारीमा त्रास सिर्जना गरेको बताए ।

कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले सरकारले बजार व्यवस्थित गर्ने नाउँमा ल्याएको नयाँनयाँ प्रावधानले व्यवसायीलाई भय पैदा गरेको बताउँदै खुद्रा व्यापारीलाई अप्ठ्यारोमा पार्नेभन्दा पनि सरकारी व्यापारमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले खुद्रा व्यापारीको कारोवारको सीमा रु ५० लाखबाट बढाएर रु एक करोड पु¥याउन आग्रह गरे । सो अवसरमा यस वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन खुद्रा व्यापारीका चार सन्ततिलाई ‘स्व गङ्गाबहादुर मानन्धर छात्रवृत्ति’ प्रदान गरिएको थियो । छात्रवृत्ति प्राप्त गर्नेमा आश्या प्रजापति, आयुश्मा प्रजापति, रुविसा कर्माचार्य र कल्याण खनाल रहेका छन् ।

चेम्बरद्वारा छात्रवृत्ति प्रदान

नेपाल चेम्बर अफ कमर्सले आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित पाँच छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । चेम्बरले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशबाट ती छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको हो ।

छात्रवृत्ति प्राप्त गर्नेमा प्रदेश १ बाट अनु पौडेल (सङ्खुवासभा) र मेनुका गुरुङ (सुनसरी) , प्रदेश नं २ बाट सुप्रया ठाकुर (रौतहट) , प्रदेश नं ३ बाट अन्वेषा खड्का (दोलखा) र कृटिना श्रेष्ठ ( काठमाडौँ) रहेका छन् ।


कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षाबाट वञ्चित छात्रालाई निःशुल्क पढ्ने वातावरण बनाउन छात्रवृत्ति प्रदान गरिएको चेम्बरले जनाएको छ ।

तपाईको प्रतिक्रिया